दुई सातामै ४२ करोड ५४ लाख रुपैयाँ बक्यौता असुल, अझै ४५ उद्योगको बिजुली काटिएको
- BFIS News
- 2026 Jun 30 13:49
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रको वर्षौँदेखि उठ्न नसकेको ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मन्त्री यादवको निर्देशनअनुसार बक्यौता असुली अभियान तीव्र बनाएपछि ठूलो रकम सङ्कलन गर्न सफल भएको जनाएको छ। लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै बक्यौता रहेका उद्योग तथा कार्यालयलाई तोकिएको समयभित्र भाडा बुझाउन आग्रह गरेको थियो।
लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार विसं २०४५ सालदेखि केही उद्योगहरूले भाडा नतिरी बक्यौता राख्दै आएका थिए। हालै ६ सय ३५ उद्योग तथा कार्यालयलाई सूचना जारी गरिएकामा अधिकांशले बक्यौता रकम भुक्तानी गरिसकेका छन्।
बक्यौता असुलीलाई प्रभावकारी बनाउन मन्त्री यादवले समयमै भाडा नतिर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्न निर्देशन दिएकी थिइन्। त्यसपछि सुरुमा २ सयभन्दा बढी उद्योगको विद्युत् लाइन काटिएको थियो। बक्यौता चुक्ता गरेपछि अधिकांश उद्योगको विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको भए पनि हालसम्म ४५ वटा उद्योग तथा कम्पनीको बिजुली लाइन अझै काटिएको अवस्थामा रहेको लिमिटेडले जनाएको छ।
मन्त्री यादवले सम्पूर्ण बक्यौता रकम नतिरेसम्म ती उद्योगहरूको विद्युत् आपूर्ति पुनः सञ्चालन नगर्न निर्देशन दिएकी छन्। सरकारले औद्योगिक क्षेत्रभित्र भाडा नतिर्ने उद्योगमाथि थप कडाइ गर्ने संकेतसमेत दिएको छ।
लिमिटेडका अनुसार सबैभन्दा बढी बक्यौता रहेका उद्योगमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा अझै उठ्न बाँकी छ। यी दुवै कम्पनीको विद्युत् आपूर्ति बन्द गर्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया