शेयर बजारमा एकाएक सुधारको संकेत! यी हुन् बजार उकालो लाग्न सक्ने १० प्रमुख आधार
- आयुश बस्नेत
- 2026 Jul 01 16:38
काठमाडौं। पछिल्ला केही सातादेखि निरन्तर दबाबमा रहेको नेपाली शेयर बजारमा सुधारको संकेत देखिन थालेको छ। नयाँ सरकार गठनपछि लगातार ओरालो लागेको बजारले अब भने सकारात्मक लय समाउने अपेक्षा लगानीकर्ता र बजार विश्लेषकहरूले गर्न थालेका छन्।
फागुन २१ को निर्वाचनअघिसम्म नेप्से सूचक उत्साहजनक गतिमा बढ्दै करिब २,९६० अंकसम्म पुगेको थियो। तर नयाँ सरकार गठन तथा त्यसपछि सरकारले भ्रष्टाचार, अख्तियार दुरुपयोग, आर्थिक अनियमितता र विचौलियामाथि थालेको कारबाहीसँगै लगानीकर्ताको मनोबल कमजोर बन्दा बजार निरन्तर घट्दै २,६०८ अंकसम्म झरेको थियो।
विशेषगरी व्यवसायी, पूर्वप्रशासक, राजनीतिज्ञ तथा कथित आर्थिक विचौलियामाथिको अनुसन्धान र पक्राउ प्रक्रियाले बजारमा थप अन्योल सिर्जना गरेको विश्लेषण गरिएको छ। यस क्रममा केही ब्रोकर कम्पनीसमेत अनुसन्धानको दायरामा परेपछि शेयर कारोबारमा थप दबाब परेको थियो।
किन घट्यो बजार?
विश्लेषकहरूका अनुसार बजारमा देखिएको ठूलो गिरावटको प्रमुख कारण अत्यधिक शेयर आपूर्ति हो। विगतमा नेपाल धितोपत्र बोर्डले ठूलो संख्यामा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको, कतिपय कम्पनीलाई उच्च प्रिमियममा शेयर जारी गर्न स्वीकृति दिएको तथा बैंक तथा बीमा कम्पनीहरूले हकप्रद, एफपीओ, बोनस शेयरमार्फत पूँजी विस्तार गर्दा बजारमा शेयरको आपूर्ति उल्लेख्य रूपमा बढेको थियो।
अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार कुनै पनि वस्तुको आपूर्ति बढी र माग कम हुँदा मूल्य घट्ने गर्छ। नेपाली शेयर बजारमा पनि हाल त्यही अवस्था देखिएको विश्लेषण गरिन्छ।
यद्यपि बजार विश्लेषकहरूका अनुसार अहिलेको अवस्था शेयर बजारको दीर्घकालीन संकटभन्दा पनि मूल्य समायोजनको चरण हो। नेपालको शेयर बजार पूर्ण रूपमा धराशायी हुने वा लगानीकर्ताको लगानी डुब्ने अवस्था तत्काल देखिँदैन।
अब किन बढ्न सक्छ बजार? यी हुन् १० प्रमुख कारण
शेयर बजारमा सकारात्मक वातावरण बन्न सक्ने आधारहरू धेरै छन्। जहाँ नरासाको चरम रुपदेखिन्छ त्याहीबाट आशाका किरणहरु पनि देखा पर्छन्। अहिले ठ्याक्कै यहि आशाको किरणहरु देखिन अवस्थामा नेपालको शेयर बजार आइपुगेको छ। लामो समय पछि बुधबार नेप्से सूचक ४४.५९ अंकले सुधार भयो। सूचक २६५२.९३ अंक कायम हुँदै गर्दा अधिकाम्स कम्पनीको शेयर मूल्यमा सुधार देखियो भने कारोबार रकम तीन अर्ब ८६ करोड भन्दा माथिको भयो। यि सबै अवस्थालाई हेर्दा बजार बढ्न सक्ने प्रमुख १० आधारहरु निम्न प्रकार छन्।
१. बैंकिङ प्रणालीमा पर्याप्त तरलता
बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त भएकाले बजारमा नयाँ लगानी आउने सम्भावना बढेको छ। अहिले सिडी रेसियो ७२.८५ रहेको छ। असारमा थप कर्जा जाने सम्भावना छैन यसले गर्दा यो अनुपात अझ बढ्ने र बैंकहरु सँग तरलता थप बढ्ने छ। अव आउने मौद्रिक नीतिले यहि तरलता प्रवाह हुने नीति ल्याउनु पर्ने बाध्यात्मक अवस्था छ। बैंकिङ प्रणालीमा ८० खर्ब ५ अर्ब निक्षेप रहेको छ भने ७२ खर्ब ७८ अर्ब कर्जा परिचालन भएको छ।
२. राजनीतिक स्थायित्व
स्थिर सरकार बनेपछि आर्थिक नीतिमा निरन्तरता आउने विश्वास बढेको छ। अवको ५ वर्ष दुई तिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाउने छ। यो वर्षदेखिको नेपालीहरुको सपना हो। शुशासन र स्थिरताले अवको आर्थिक बृद्धिलाई टेवा पुर्याउने भएकाले चाढो ढिलो यसको लाभ शेयर बजारले पनि उठाउने निश्चित छ।
३. सम्पत्ति शुद्धीकरणसम्बन्धी सुधार
एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर ल्याउने उद्देश्यले सरकारले थालेका सुधारात्मक कदम प्रभावकारी बन्दै गएको अपेक्षा गरिएको छ। सरकारले भ्रष्टाचार, कालोधन, सम्पत्ती सुद्धिकरणका मुद्दालाई कडाइका साथ अगाडी बढाइरहेको छ। अव सरकारले एफएटिएफमा गर्ने रिपोर्टीङमा यस्ता पक्षले ठुलो टेवा पुर्याउनेछ।
४. अन्तर्राष्ट्रिय बजारमा मुद्रास्फीतिको दबाब घट्ने संकेत
अमेरिका–इरानबीचको युद्धविराम र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा सम्भावित स्थिरताले आयातमुखी नेपाली अर्थतन्त्रलाई राहत पुग्ने अनुमान गरिएको छ। पेट्रोलियम पदार्थको मूल्य घट्न थाले सँगै महंगीको मारबाट केहि राहत पुग्नेछ।
५. नेपाल धितोपत्र बोर्डमा नयाँ नेतृत्व
नयाँ नेतृत्वले बजार सुधारका लागि नीतिगत निर्णय गर्ने विश्वास लगानीकर्तामा देखिएको छ। दुई तिहाइ बहुमतको सरकारले गरेको यो नियुक्तिलाई पनि धेरै चासोका साथ हेरिएको छ। उनले सरकारको स्पिरिट र शुसासनका क्षेत्रमा काम गर्ने अपेक्षा पनि गरिएको छ।
६. गैरआवासीय नेपाली (एनआरएन) लाई शेयर बजारमा प्रवेश गराउने अपेक्षा
सरकारले एनआरएन लगानीलाई प्रोत्साहन गर्ने नीति अघि बढाउने सम्भावनाले बजारमा सकारात्मक सन्देश दिएको छ।
७. आईपीओ स्वीकृतिमा कडाइ हुने विश्वास
जथाभावी कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिने विगतको अभ्यास अन्त्य हुने अपेक्षाले भविष्यमा शेयर आपूर्ति सन्तुलित हुने विश्वास गरिएको छ।
८. लाभांश घोषणाको समय नजिकिँदै
सूचीकृत कम्पनीहरूले चालु आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने समय नजिकिँदै जाँदा बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
९. राष्ट्र बैंकका नीतिमा सम्भावित लचकता
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामाथिका केही कडा व्यवस्थाहरू क्रमशः खुकुलो बनाउन सक्ने अपेक्षा गरिएको छ।
१०. आर्थिक वृद्धिको लक्ष्यअनुसार नीतिगत सहजीकरण
सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न वित्तीय तथा मौद्रिक नीति थप लचक हुने सम्भावनाले बजारलाई टेवा पुग्न सक्ने विश्लेषण गरिएको छ।
दिगो सुधारका लागि के आवश्यक?
विशेषज्ञहरूका अनुसार बजारको दीर्घकालीन विकासका लागि शेयरको अत्यधिक आपूर्ति व्यवस्थापन गर्ने दिगो संयन्त्र आवश्यक छ। साथै, सर्वसाधारणमा वित्तीय तथा शेयर साक्षरता बढाउन सरकार र नियामक निकायले व्यवहारिक तालिम तथा लगानी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
विश्लेषकहरूका अनुसार अहिले धेरै सूचीकृत कम्पनी, विशेषगरी वाणिज्य बैंकहरूको शेयर मूल्य ऐतिहासिक रूपमा आकर्षक मूल्यांकनमा रहेको देखिन्छ। यद्यपि, कुनै पनि लगानी निर्णय गर्दा व्यक्तिगत जोखिम क्षमता, कम्पनीको वित्तीय अवस्था र दीर्घकालीन सम्भावनाको अध्ययन गरेर मात्रै निर्णय लिनुपर्ने सुझाव उनीहरूको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpeg)






प्रतिक्रिया