आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघले राष्ट्र बैंकलाई दियो ५ सुझाव
- BFIS News
- 2026 Jul 02 12:27
काठमाडौं। शेयर लगानीकर्ता संघ नेपालले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा पूँजी बजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित पाँच बुँदे सुझाव नेपाल राष्ट्र बैंकसमक्ष पेश गरेको छ।
संघका अध्यक्ष तारा प्रसाद फुल्लेलले नेपाल राष्ट्र बैंकका गभर्नरलाई सम्बोधन गर्दै बुझाएको सुझावपत्रमा मौद्रिक नीतिले बजारमैत्री, जोखिममा आधारित तथा आधुनिक नियामकीय दृष्टिकोण अवलम्बन गर्नुपर्ने उल्लेख गरिएको छ।
संघले पहिलो सुझावका रूपमा बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानीसम्बन्धी थप स्वतन्त्रता दिन आग्रह गरेको छ। हाल लागू रहेका दोस्रो बजार लगानी सीमा, लक-इन अवधि (Lock-in Period) तथा अन्य नियामकीय प्रतिबन्धको पुनरावलोकन गरी बजारको अवस्थाअनुसार लचकता प्रदान गर्नुपर्ने संघको भनाइ छ। पर्याप्त पुँजी, तरलता र जोखिम व्यवस्थापन क्षमता भएका संस्थालाई विवेकपूर्ण रूपमा बजारमा लगानी गर्न प्रोत्साहन गरिए संस्थागत सहभागिता, बजारको तरलता तथा मूल्य स्थायित्वमा सकारात्मक प्रभाव पर्ने संघको विश्वास छ।
दोस्रो सुझावमा लघुवित्त संस्थाको लाभांश वितरण व्यवस्थामा सुधार गर्नुपर्ने उल्लेख गरिएको छ। सबै संस्थामा एउटै मापदण्ड लागू गर्नुको सट्टा पूँजी पर्याप्तता, निष्क्रिय कर्जा, नाफा, वित्तीय स्वास्थ्य तथा सुशासनका सूचकका आधारमा लाभांश वितरणमा लचक नीति अपनाउनुपर्ने संघको धारणा छ। यसबाट वित्तीय रूपमा सबल संस्थामा लगानीकर्ताको विश्वास बढ्नुका साथै थप लगानी आकर्षित हुने अपेक्षा गरिएको छ।
तेस्रो सुझावअन्तर्गत शेयर धितो कर्जा व्यवस्थालाई जोखिममा आधारित बनाउनुपर्ने संघले जनाएको छ। हालको एकरूप व्यवस्था परिमार्जन गरी कम्पनीको वित्तीय अवस्था, बजार पूँजीकरण, कारोबारको तरलता तथा जोखिमका आधारमा Loan-to-Value (LTV) Ratio निर्धारण गर्ने Risk-Based Margin Lending प्रणाली लागू गर्नुपर्ने सुझाव दिइएको छ। यसबाट गुणस्तरीय कम्पनीमा लगानी प्रवर्द्धन हुनुका साथै वित्तीय प्रणाली थप सुदृढ हुने संघको विश्वास छ।
संघले चौथो सुझावमा गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको पूँजी बजारमा सहज रूपमा लगानी गर्न तथा आवश्यक पर्दा वैधानिक Repatriation Mechanism मार्फत लगानी र नाफा विदेश लैजान सक्ने स्पष्ट, सरल र विश्वसनीय व्यवस्था गर्न आग्रह गरेको छ। यसबाट वैदेशिक मुद्रा भित्रिने, विदेशी लगानी बढ्ने तथा नेपालको पूँजी बजार अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी बन्ने संघको अपेक्षा छ।
त्यसैगरी, पाँचौँ सुझावमा कर्मचारी सञ्चय कोष (EPF), नागरिक लगानी कोष (CIT), सामाजिक सुरक्षा कोष (SSF) तथा बीमा कम्पनीका दीर्घकालीन कोषलाई स्पष्ट जोखिम व्यवस्थापन मापदण्डसहित पूँजी बजारमा थप सक्रिय रूपमा परिचालन गर्न नीतिगत सहजीकरण गर्नुपर्ने माग गरिएको छ। यस्ता संस्थागत लगानीकर्ताको सक्रिय सहभागिताले बजारमा दीर्घकालीन स्थायित्व, पर्याप्त तरलता तथा स्वस्थ लगानी संस्कृतिको विकास हुने संघको भनाइ छ।
शेयर लगानीकर्ता संघ नेपालले प्रस्तुत सुझावहरू कार्यान्वयन भए पूँजी बजारको गहिराइ, लगानीकर्ताको विश्वास, संस्थागत सहभागिता तथा समग्र वित्तीय प्रणालीको स्थायित्वमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक मौद्रिक नीति समीक्षामा आफ्ना सुझावलाई प्राथमिकताका साथ समावेश गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया