NIMB Header 2
Nepal Life

३४ अंकको बाउन्सब्याकपछि नेप्से हरियो, अन्त्यमा ८.७८ अंकले सुधार

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 02 15:19
३४ अंकको बाउन्सब्याकपछि नेप्से हरियो, अन्त्यमा ८.७८ अंकले सुधार
IME LIFE

काठमाडौं। साताको कारोबारको क्रममा शेयर बजारमा एकै दिन ३६ अंकभन्दा बढीको उतारचढाव देखिएको छ। कारोबारको अधिकांश समय दबाबमा रहेको बजार अन्तिम समयमा उल्लेखनीय रूपमा सुधारिँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.७८ अंकले बढेर हरियो संकेतसहित बन्द भएको छ।

Nepal Life
NIMB

बिहान २६५९ अंकको आसपासबाट कारोबार सुरु भएको नेप्से परिसूचक कारोबारका क्रममा घट्दै २ बजेर १२ मिनेटसम्म २६२५ अंकसम्म झरेको थियो। त्यसबेला बजारमा तीव्र बिक्री दबाब देखिएको थियो। तर त्यसपछि लगानीकर्ताको खरिद चाप बढेसँगै बजारले करिब ३४ अंकको बाउन्सब्याक गर्दै अन्तिममा ८.७८ अंकको सुधारसहित कारोबार बन्द गरेको हो।

बजारमा पछिल्लो समय सकारात्मक वातावरण निर्माण हुने अपेक्षाले पनि लगानीकर्ताको मनोबल बलियो बनेको विश्लेषण गरिएको छ। नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिको तयारी गरिरहेको तथा नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले पूँजी बजार सुधार र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै सकारात्मक धारणा सार्वजनिक गरिरहेका छन्। अर्थमन्त्रीले समेत शेयर बजारको पछिल्लो अवस्थाप्रति चासो व्यक्त गरिरहेको सन्दर्भमा लगानीकर्ताले आगामी नीतिगत व्यवस्थाप्रति आशा गरेका छन्।

यद्यपि सरकारको तर्फबाट उद्यमी–व्यवसायीमाथि हुने पक्राउ तथा अनुसन्धानको क्रम अझै नरोकिएको भन्दै निजी क्षेत्रले असहजता महसुस गरिरहेको छ। अर्कोतर्फ, नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउने उद्देश्यका साथ भ्रष्टाचार नियन्त्रण र सुशासनका क्षेत्रमा सरकारले कडाइ गरिरहेको छ।

बजारका आधारभूत पक्ष भने अझै सकारात्मक रहेको विश्लेषकहरूको भनाइ छ। बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, सूचीकृत कम्पनीहरूले आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने क्रम सुरु भएको तथा लाभांश वितरण गर्न सक्ने क्षमता भएका कम्पनीहरूको संख्या बढ्ने अपेक्षाले बजारलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।

आज कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये १०८ कम्पनीको शेयर मूल्य बढ्दा १५२ कम्पनीको शेयर मूल्य घटेको छ।

कारोबारका क्रममा अपर लोहोरे खोला, खलङ्गा हाइड्रोपावर, स्नोरिभर फल्स र सानिगढ हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता केही लघुवित्त कम्पनीहरूको शेयर मूल्यमा भने उल्लेख्य गिरावट देखिएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया