शिखर इन्स्योरेन्सद्वारा ऐतिहासिक उपलब्धि, ६ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो निर्जीवन बीमा कम्पनी
- BFIS News
- 2026 Jul 02 16:42
काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली निर्जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्दै ६ अर्ब रुपैयाँ (६०० करोड रुपैयाँ) भन्दा बढी कुल बीमा शुल्क (Gross Written Premium) संकलन गर्ने पहिलो तथा हालसम्मकै एकमात्र निर्जीवन बीमा कम्पनी बनेको छ।
कम्पनीले आजको दिनसम्ममा निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा धेरै ६ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गर्दै नयाँ कीर्तिमान कायम गरेको जनाएको छ। कम्पनीका अनुसार यो ऐतिहासिक उपलब्धि ग्राहकहरूको अटुट विश्वास, कर्मचारीहरूको समर्पण, अभिकर्ताहरूको अथक मेहनत तथा साझेदार एवं शुभेच्छुकहरूको निरन्तर सहयोगको परिणाम हो।
शिखर इन्स्योरेन्सले प्रत्येक जारी गरिएको बीमालेख, समयमै गरिएको दाबी भुक्तानी तथा ग्राहकसँग निर्माण गरिएको विश्वासपूर्ण सम्बन्धले यो सफलता सम्भव भएको उल्लेख गरेको छ। कम्पनीले यो उपलब्धिले नेपालको निर्जीवन बीमा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको जनाएको छ।
कम्पनीले देशभर ११५ भन्दा बढी शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ। साथै, ५,८०० भन्दा बढी अस्पतालसँगको सहकार्यमा नगदरहित (Cashless) स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको छ, जसले सेवाग्राहीलाई सहज र प्रभावकारी स्वास्थ्य बीमा सुविधा प्रदान गरेको छ।
वित्तीय सुदृढताका दृष्टिले पनि कम्पनीले ICRANP-IR "AA-" रेटिङ प्राप्त गरेको छ, जुन कम्पनीको बलियो वित्तीय क्षमता, दायित्व बहन गर्ने उच्च क्षमता तथा स्थिर व्यवसायिक अवस्थाको सूचक मानिन्छ।
त्यसैगरी, शिखर इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिएको "National Best Presented Annual Report Award–2026" अन्तर्गत Gold Award समेत प्राप्त गर्न सफल भएको छ, जसले कम्पनीको सुशासन, पारदर्शिता तथा वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुतिलाई थप पुष्टि गरेको छ।
कम्पनीले छोटो अवधिमै ६०० करोड रुपैयाँभन्दा बढी निर्जीवन बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल हुनु सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, साझेदार तथा शुभेच्छुकहरूको विश्वास र साथकै प्रतिफल भएको उल्लेख गर्दै सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
साथै, आगामी दिनमा पनि अझ उत्कृष्ट, विश्वसनीय र ग्राहकमैत्री बीमा सेवा प्रदान गर्दै नयाँ उचाइहरू हासिल गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया