NIMB Header 2
Nepal Life

बाढी पछि रसुवागढी जलविद्युत् आयोजना पुनः सञ्चालनमा, ७४ मेगावाट उत्पादन सुरु

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 05 12:55
बाढी पछि रसुवागढी जलविद्युत् आयोजना पुनः सञ्चालनमा, ७४ मेगावाट उत्पादन सुरु
IME LIFE

काठमाडौं। गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त बनेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको मर्मत तथा पुनःनिर्माण कार्य करिब ७५ प्रतिशत सम्पन्न भएको छ। आवश्यक मर्मत सम्पन्न भएसँगै आयोजना पुनः सञ्चालनमा आएको भए पनि राष्ट्रिय विद्युत् प्रणालीको मागअनुसार हाल ७४ मेगावाट विद्युत् मात्रै उत्पादन भइरहेको कम्पनीले जनाएको छ।

Nepal Life
NIMB

नेपाल–चीन सीमास्थित भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरिएको रसुवागढी जलविद्युत् आयोजना मुलुकका प्रमुख जलविद्युत् आयोजनामध्ये एक हो। गत वर्षको बाढीले आयोजनामा ठूलो प्राकृतिक क्षति पुर्‍याए पनि छोटो समयमै पुनः सञ्चालनको अवस्थामा पुग्नु महत्वपूर्ण उपलब्धि भएको स्थानीयवासी सोनाम औदी तामाङले बताए।

रसुवागढी जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार बाढीका कारण सुरुङभित्र पसेको भेलले क्षति पुर्‍याएका विद्युत्गृहका उपकरणहरूको मर्मत सम्पन्न भइसकेको छ। साथै, भूमिगत डिसेन्डर (बालुवा थिग्राउने पोखरी) को सफाइ, अवरोध हटाउने कार्य तथा हाइड्रो–मेकानिकल प्रणालीअन्तर्गतका सम्पूर्ण मर्मत र पुनःनिर्माण पनि सकिएको उनले जानकारी दिए।

उनका अनुसार आयोजनाले प्रयोग गर्ने पुलको संरक्षणका लागि आवश्यक तटबन्ध निर्माण गरिएको छ भने जोखिमयुक्त क्षेत्रहरूमा संरक्षणका अन्य पूर्वाधारसमेत तयार पारिएको छ। त्यसैगरी, भोटेकोशी नदीस्थित बाँध क्षेत्रमा बाढीले थुपारेका ठूला चट्टान तथा ढुङ्गा फुटाउने कार्य सम्पन्न भइसकेको छ भने ड्याम मर्मत तथा स्तरोन्नतिका बाँकी काम अन्तिम चरणमा पुगेका छन्।

कम्पनीका अनुसार अब नयाँ गेटमार्फत नदीको पानी फिल्टर गरेर सुरुङमा पठाउने व्यवस्था मिलाइएकाले आयोजना पूर्ण रूपमा १११ मेगावाट विद्युत् उत्पादन गर्न सक्षम भइसकेको छ। प्राविधिक परीक्षण र बाँकी सुधार कार्य सम्पन्न भएपछि आयोजना पूर्ण क्षमतामा सञ्चालन हुनेछ।

बाढीका कारण आयोजनामा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको कम्पनीको प्रारम्भिक अनुमान छ। जलविद्युत् केन्द्र प्रमुख सन्तोष अधिकारीका अनुसार आयोजना अहिले पूर्ण रूपमा सञ्चालनयोग्य अवस्थामा रहे पनि देशभित्र विद्युत्को माग अपेक्षाकृत कम रहेकाले नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार हाल ७४ मेगावाट विद्युत् मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको हो।

प्राविधिकहरूका अनुसार आयोजनाका अधिकांश संरचना भूमिगत भएकाले बाँध क्षेत्रबाहेक पहिरो वा अन्य प्राकृतिक विपद्बाट प्रत्यक्ष क्षति पुग्ने जोखिम न्यून रहेको छ। आगामी दिनमा बाह्य संरचनाको सुरक्षा थप सुदृढ गर्दै आयोजनालाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो ढङ्गले सञ्चालन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया