NIMB Header 2
Nepal Life

नेप्सेका सीईओ चुडामणि चापागाईंको राजीनामा, पूँजी बजारको नेतृत्व फेरेर आफु अनुकल बनाउदै सरकार

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 06 13:47
नेप्सेका सीईओ चुडामणि चापागाईंको राजीनामा, पूँजी बजारको नेतृत्व फेरेर आफु अनुकल बनाउदै सरकार
IME LIFE

काठमाडौं, असार २२ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी रहँदै उनले व्यक्तिगत कारण उल्लेख गर्दै राजीनामा बुझाएको स्रोतले जनाएको छ।

Nepal Life
NIMB

प्राप्त जानकारीअनुसार चापागाईंले आइतबार अर्थ मन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन्। यद्यपि, उनको राजीनामाको विस्तृत कारण भने सार्वजनिक गरिएको छैन।

चापागाईं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा नेप्सेको सीईओमा नियुक्त भएका थिए। सरकार परिवर्तनपछि सार्वजनिक संस्थानका प्रमुखहरूको नेतृत्व परिवर्तनबारे चर्चा चलिरहेका बेला उनले स्वेच्छिक रूपमा पद छाड्ने निर्णय गरेका हुन्। स्रोतका अनुसार उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिए पनि पछिल्लो समय उनीमाथि नेतृत्व परिवर्तनका लागि अप्रत्यक्ष दबाब रहेको चर्चा सरकारी तथा वित्तीय वृत्तमा हुँदै आएको थियो।

सरकारले यसअघि नै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ नेतृत्व नियुक्त गरिसकेको छ। त्यसपछि नेप्सेको नेतृत्व पनि परिवर्तन हुने अनुमान गरिँदै आएको थियो। यसै सन्दर्भमा चापागाईंको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उनको राजीनामासँगै अब नेप्सेको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चासो बढेको छ। नयाँ सीईओ नियुक्ति प्रक्रिया पूरा नभएसम्म अर्थ मन्त्रालयले नेप्सेकै कुनै वरिष्ठ अधिकारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिने सम्भावना रहेको स्रोतको भनाइ छ।

चापागाईंको कार्यकालमा पूँजी बजारलाई थप प्रविधिमैत्री बनाउने, प्रणालीगत सुधार अघि बढाउने तथा बजार पूर्वाधार सुदृढ गर्ने केही पहलहरू सुरु भएका थिए। ती सुधारका कामलाई आगामी नेतृत्वले कसरी निरन्तरता दिन्छ भन्ने विषय पनि लगानीकर्ताको चासोको केन्द्र बनेको छ।

राजीनामा स्वीकृत भएपछि सरकारले खुला प्रतिस्पर्धामार्फत नयाँ सीईओ नियुक्तिको प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ। नेप्से नेपालको पूँजी बजार सञ्चालन गर्ने प्रमुख संस्था भएकाले यसको नेतृत्वमा हुने परिवर्तनले बजारको नीतिगत दिशा, सुधारका कार्यक्रम तथा लगानीकर्ताको मनोविज्ञानमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया