शिखर इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा अस्मी श्रेष्ठ नियुक्त
- BFIS News
- 2026 Jul 07 16:31
काठमाडौं। शिखर इन्स्योरेन्सले युवापुस्तासँग आफ्नो सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यसहित मोडल तथा युवा व्यक्तित्व अस्मी श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
कम्पनीले अस्मीको नियुक्तिसँगै नयाँ पुस्तालाई ठूलो सपना देख्न, सही निर्णय गर्न तथा सुरक्षित भविष्य निर्माणतर्फ प्रेरित गर्ने लक्ष्य राखेको जनाएको छ। कम्पनीका अनुसार आत्मविश्वास, महत्वाकांक्षा र उत्कृष्टताको प्रतिनिधित्व गर्ने अस्मीले शिखर इन्स्योरेन्सले प्रवर्द्धन गर्दै आएको विश्वास, सुरक्षा र प्रगतिका मूल्यलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
अस्मी अब शिखर इन्स्योरेन्सका ब्रान्ड एम्बासडरको टोलीमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग आबद्ध भएकी छन्। कम्पनीले दुई पुस्तालाई जोड्ने सन्देश दिन अनुभवी र युवा व्यक्तित्वको संयोजनमार्फत सबै उमेर समूहसँग प्रभावकारी सम्बन्ध विस्तार गर्ने रणनीति लिएको जनाएको छ।
शिखर इन्स्योरेन्सका अनुसार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वर्षौंदेखि विश्वास, इमानदारी र सामाजिक योगदानको सन्देश प्रवाह गर्दै आएका छन् भने अस्मी श्रेष्ठको सहभागिताले युवापुस्तामाझ कम्पनीको पहुँच र सन्देशलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।
कम्पनीले अस्मी श्रेष्ठको नियुक्तिलाई आफ्नो ब्रान्ड प्रवर्द्धन अभियानको नयाँ अध्यायका रूपमा लिँदै यस साझेदारीमार्फत युवालाई सशक्त बनाउने, बीमाप्रति जनचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित भविष्य निर्माणको अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया