NIMB Header 2
Nepal Life

अधिकांश जिल्लामा वर्डफ्लु नियन्त्रण, काठमाडौं उपत्यका र काभ्रे अझै उच्च निगरानीमा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 08 10:14
अधिकांश जिल्लामा वर्डफ्लु नियन्त्रण, काठमाडौं उपत्यका र काभ्रे अझै उच्च निगरानीमा
IME LIFE

काठमाडौं। देशका अधिकांश जिल्लामा देखिएको वर्डफ्लु संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकमा जोखिम कायम रहेकाले निगरानीलाई निरन्तरता दिइएको छ।

Nepal Life
NIMB

पशु सेवा विभागका अनुसार हालसम्म संक्रमण पुष्टि भएका ११ जिल्लामध्ये आठ जिल्लामा अवस्था सामान्य बनेको छ भने बाँकी तीन जिल्लामा नियन्त्रणका उपायहरू कार्यान्वयन भइरहेका छन्।

विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा देखिएको संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा संक्रमणको अवस्था अझै पूर्ण रूपमा अन्त्य नभएकाले स्थलगत अनुगमन तथा व्यवस्थापनका काम जारी राखिएको छ।

विशेषगरी जनघनत्व उच्च रहेका तथा व्यावसायिक कुखुरा पालन व्यापक भएका क्षेत्रमा संक्रमणको जोखिम बढी देखिएकाले सतर्कता बढाइएको विभागले जनाएको छ। काठमाडौं उपत्यका आसपास कुखुरा फार्मको संख्या धेरै हुनु र दैनिक ठूलो परिमाणमा कुखुरा तथा अण्डाको कारोबार हुने भएकाले संक्रमण नियन्त्रण चुनौतीपूर्ण रहेको सम्बन्धित अधिकारीहरूको भनाइ छ।

संक्रमण नियन्त्रणका लागि संघीय र स्थानीय तहबीच समन्वय गरी प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका काम सञ्चालन भइरहेको छ। विभागको तथ्यांकअनुसार हालसम्म संक्रमण नियन्त्रण अभियानअन्तर्गत सात लाख ५४ हजार ५०० वटा पन्छी, १० लाख ९१ हजार ३०३ वटा अण्डा तथा दुई लाख ४३ हजार ६३५ किलोग्राम दाना नष्ट गरिएको छ।

सरकारले प्रभावित क्षेत्रबाट कुखुरा र अण्डाको ओसारपसारमा निगरानी कडा बनाएको छ। साथै कुखुरा व्यवसायीलाई फार्ममा जैविक सुरक्षा मापदण्ड पालना गर्न, बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न, नियमित सरसफाइ गर्न तथा कुनै पन्छी बिरामी वा अस्वाभाविक रूपमा मरेको अवस्थामा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

वर्डफ्लु कुखुरा तथा अन्य पन्छीमा फैलिने संक्रामक रोग भएकाले संक्रमित पन्छीको शीघ्र पहिचान, वैज्ञानिक व्यवस्थापन र जैविक सुरक्षा उपायको प्रभावकारी कार्यान्वयनलाई नियन्त्रणको प्रमुख आधार मानिएको छ।

स्वास्थ्य तथा पशु स्वास्थ्य विज्ञहरूले राम्रोसँग पकाएर तयार गरिएको कुखुराको मासु र अण्डाको उपभोगबाट सामान्य अवस्थामा संक्रमणको जोखिम अत्यन्त न्यून रहने बताएका छन्। उनीहरूले अनावश्यक त्रास फैलाउनु भन्दा सतर्कता अपनाउन र सरकारी स्वास्थ्य तथा पशु सेवा निकायका निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया