NIMB Header 2
Nepal Life

बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 08 17:45
बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै
IME LIFE

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा लागू गरिएको जोखिममा आधारित पूँजी (आरबीसी) प्रणालीको दुई वर्षे कार्यान्वयनको समीक्षा गर्दै प्राप्त अनुभवका आधारमा आवश्यक नीतिगत तथा प्राविधिक सुधार अघि बढाउने जनाएको छ।

Nepal Life
NIMB

प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले आरबीसी प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको उल्लेख गर्दै यसको संक्रमणकालमा देखिएका चुनौती र उपलब्धिबारे गहन समीक्षा आवश्यक रहेको बताए।

उनले बीमक संस्थाहरूलाई कार्यान्वयनका क्रममा भोगिएका सहज र जटिल पक्षहरूबारे स्पष्ट सुझाव दिन आग्रह गर्दै प्राप्त सुझावका आधारमा जोखिममा आधारित पूँजीसम्बन्धी व्यवस्थालाई व्यवहारिक र समयानुकूल बनाउँदै लगिने स्पष्ट पारे।

कार्यक्रममा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले जोखिममा आधारित पूँजी प्रणालीलाई अन्तर्राष्ट्रिय असल अभ्यास, निरन्तर मूल्याङ्कन तथा समीक्षा र सरोकारवालाको सिकाइका आधारमा थप प्रभावकारी बनाइने बताए। उनका अनुसार नियामकीय व्यवस्था समयअनुसार परिमार्जन गर्दै प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य रहेको छ।

अन्तरक्रियाका क्रममा प्राधिकरणकी उपनिर्देशक निर्मला मल्लले आरबीसी कार्यान्वयनको दुई वर्षे समीक्षा प्रस्तुत गर्दै आगामी परिमार्जनका प्रमुख विषयहरूबारे जानकारी दिइन्। उनले तथ्याङ्कको गुणस्तर सुधार, सूचना प्रणालीको सुदृढीकरण, बीमाङ्की जनशक्तिको क्षमता विकास, संस्थागत जोखिम संस्कृतिको प्रवर्द्धन, प्रभावकारी जोखिम व्यवस्थापन तथा समयमै प्रतिवेदन पेस गर्ने अभ्यासलाई प्राधिकरणले प्राथमिकतामा राखेको बताइन्।

कार्यक्रममा जीवन बीमक संघ, नेपालका अध्यक्ष प्रवीण रमण पराजुलीले संघले पेश गरेका सुझावहरूलाई प्राधिकरणले समेटेकोमा धन्यवाद व्यक्त गर्दै आरबीसी प्रणालीलाई व्यवहारिक बनाउने प्रक्रियामा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहने धारणा राखे।

सहभागीहरूले जोखिममा आधारित पूँजी कार्यान्वयनका क्रममा प्राप्त अनुभवहरू साझा गर्नुका साथै आरबीसी तथा सोल्भेन्सी निर्देशिकामा रहेका विद्यमान र प्रस्तावित व्यवस्थासम्बन्धी जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।

यसै अवसरमा प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्त प्रसाद बोहराले प्राधिकरणले यस वर्षदेखि बीमा क्षेत्रका समग्र तथ्याङ्क समेटिएको वार्षिक प्रकाशन सुरु गरेको जानकारी दिए। उनले पहिलो संस्करणका रूपमा ‘इन्स्योरेन्स स्टाटिस्टिकल इयर बुक २०८१/८२’ प्रकाशित गरिएको बताए।

अन्तरक्रिया कार्यक्रममा जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, जोखिम व्यवस्थापन शाखा प्रमुख तथा आरबीसी सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक करूणा थापाले गरेकी थिइन्।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया