NIMB Header 2
Nepal Life

नेप्से सूचक ३०.६० अंकले घट्दा कारोबार रकम ७ अर्ब ४६ करोड, ऋणपत्र बढायो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 13 17:19
नेप्से सूचक ३०.६० अंकले घट्दा कारोबार रकम ७ अर्ब ४६ करोड, ऋणपत्र बढायो
IME LIFE

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २,५७०.१८ विन्दुमा बन्द भएको छ। लगातार दबाबमा रहेको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ।

Nepal Life
NIMB

सोमबार कुल ३६८ वटा धितोपत्रका ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। अघिल्लो कारोबार दिन शुक्रबार ६ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो।

कारोबार भएका कम्पनीमध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १९७ रुपैयाँ पुगेको छ। त्यस्तै, १०.२५ प्रतिशत सिटिजन बैंक डिबेन्चर २०८६ को मूल्य ५.३१ प्रतिशतले बढेर प्रतिइकाइ १ हजार १९० रुपैयाँ कायम भएको छ।

यता, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ११.२८ प्रतिशतले घटेर प्रतिकित्ता २ हजार ८३९ रुपैयाँमा झरेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य पनि ७.४७ प्रतिशतले घटेर प्रतिकित्ता २७५ रुपैयाँमा सीमित भएको छ।

ऋणपत्रमा केन्द्रित रह्यो कारोबार

सोमबार सबैभन्दा बढी कारोबार एनएमबी डिबेन्चर ८.५० प्रतिशत २०८७/८८ मा भएको छ। उक्त ऋणपत्र प्रतिइकाइ १ हजार १३५ रुपैयाँमा ४८ करोड ४६ लाख रुपैयाँ बराबर कारोबार भएको छ। यसको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १.७३ प्रतिशतले घटेको हो।

दोस्रो स्थानमा १० प्रतिशत एनआईसी एशिया डिबेन्चर २०८५/८६ रह्यो। उक्त ऋणपत्र प्रतिइकाइ १ हजार १५४ रुपैयाँमा ४६ करोड ६५ लाख रुपैयाँ बराबर कारोबार भएको छ।

यसदिन कारोबारमा आएका १३ वटै समूहगत परिसूचक ओरालो लागेका छन्। तीमध्ये व्यापार समूह सर्वाधिक २.३० प्रतिशतले घटेको छ। पछिल्लो समय नेप्से परिसूचक लगातार घटिरहेको भए पनि कुल कारोबार रकम भने बढ्दो क्रममा देखिएको छ। यसको मुख्य कारण सेयरभन्दा ऋणपत्रको कारोबार उल्लेख्य रूपमा बढ्नु हो।

गत बिहीबार बजारमा कुल ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार हुँदा साधारण सेयरको हिस्सा २ अर्ब ८६ करोड रुपैयाँ मात्र थियो। शुक्रबार कुल कारोबार ६ अर्ब ८६ करोड रुपैयाँ पुग्दा साधारण सेयर कारोबार ३ अर्ब ८ करोड रुपैयाँमा सीमित रह्यो। यसले कुल कारोबारको ठूलो हिस्सा ऋणपत्र कारोबारले ओगटेको देखाउँछ।

ऋणपत्र तथा सामूहिक लगानी कोषका इकाइको मूल्य परिवर्तनले नेप्से परिसूचकमा असर नगर्ने भएकाले कारोबार रकम बढे पनि बजार परिसूचकमा त्यसको प्रत्यक्ष प्रभाव देखिँदैन।

किन बढिरहेको छ ऋणपत्र कारोबार?

बजार विश्लेषकका अनुसार हाल ऋणपत्र कारोबार बढ्नुका तीन प्रमुख कारण छन्। पहिलो, आगामी आर्थिक वर्षको बजेटमार्फत समानान्तर अवकाश कोष सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। यसले यस्ता कोषहरूलाई आफ्ना लगानी पुनर्संरचना गर्न बाध्य बनाएको छ, जसका कारण बजारमा ऋणपत्र बिक्री बढेको बताइन्छ।

दोस्रो, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपको ब्याजदर उल्लेख्य रूपमा घटेको छ। अहिले औसत मुद्दती निक्षेपमा करिब ४.२७ प्रतिशत ब्याज पाइँदा बजारमा ८.५ प्रतिशतदेखि ११ प्रतिशतसम्म कुपन दर भएका ऋणपत्र उपलब्ध छन्। त्यसैले ऋणपत्र अझ आकर्षक लगानी उपकरण बनेको विश्लेषकहरूको भनाइ छ।

तेस्रो, संस्थागत लगानीकर्ताले वित्तीय विवरण आकर्षक देखाउन ऋणपत्र खरिद–बिक्री बढाएका छन्। ब्याज आम्दानी वित्तीय विवरणमा प्रत्यक्ष देखिने भएकाले संस्थागत लगानीकर्ताले यस्ता उपकरणमा बढी रुचि देखाइरहेका छन्। बजार मूल्य बढेपछि बिक्री गरेर पूँजीगत लाभ समेत लिन सकिने भएकाले ऋणपत्रमा कारोबार बढेको ब्रोकरहरू बताउँछन्।

ऋणपत्रमा लगानी गर्दा के हेर्ने?

विश्लेषकहरूका अनुसार ऋणपत्रमा लगानी गर्दा केवल ब्याजदर मात्र हेर्नु पर्याप्त हुँदैन। बजार मूल्य, बाँकी परिपक्व अवधि (म्याच्युरिटी), ब्याज भुक्तानीको समय, वास्तविक प्रतिफल (यिल्ड) तथा जारीकर्ता संस्थाको वित्तीय अवस्था समेत मूल्यांकन गर्न आवश्यक हुन्छ।

छोटो परिपक्व अवधि भएका ऋणपत्रमा मूल्य वृद्धि हुने सम्भावना सीमित हुन सक्छ भने अर्धवार्षिक वा त्रैमासिक ब्याज भुक्तानी भएका ऋणपत्रमा लगानीकर्ताले खरिद गरेको समयअनुसार मात्रै ब्याज प्राप्त गर्ने अवस्था रहन्छ।

नेपालमा हालसम्म परिपक्व अवधि पुगेपछि बैंक तथा वित्तीय संस्थाले ऋणपत्रको मूलधन भुक्तानी नगरेको उदाहरण छैन। नियामकीय व्यवस्थाअनुसार यस्ता संस्थाले ऋणपत्र परिपक्व भएपछि भुक्तानी गर्न आवश्यक कोषसमेत छुट्याउँदै आएका छन्।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया