कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २२.३४ रुपैयाँ
- BFIS News
- 2026 Jul 19 19:45
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा खुद नाफा, सञ्चालन मुनाफा तथा प्रतिसेयर आम्दानी (EPS) मा उल्लेखनीय सुधार गरेको छ।
समीक्षा अवधिमा बैंकले ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा ३३.५१ प्रतिशतले बढी हो।
बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ, जसमा ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत गैरसञ्चयी अविमोच्य प्राथमिक सेयर (Non-Cumulative Irredeemable Preference Shares) समावेश छन्। उक्त प्राथमिक सेयर बाहेक बैंकको मूल इक्विटी पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।
बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।
यसैगरी, सञ्चालन मुनाफा ३२.८७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। बैंकका अनुसार सञ्चालन मुनाफामा आएको सुधारको प्रमुख कारण कर्जा तथा सापटीमा गर्नुपर्ने ह्रास (Impairment) व्यवस्थामा उल्लेखनीय कमी आउनु हो। समीक्षा अवधिमा कर्जा तथा सापटीको ह्रास व्यवस्था ६७.३४ प्रतिशतले घटेर १३ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ८३ लाख रुपैयाँ रहेको थियो।
बैंकका प्रमुख वित्तीय सूचकहरू पनि सुधारिएका छन्। समीक्षा अवधिमा प्रतिसेयर आम्दानी (EPS) २२ रुपैयाँ ३४ पैसा पुगेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (P/E Ratio) २१.२२ गुण रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ १ पैसा कायम भएको छ। त्रैमासको अन्त्यसम्म बैंकको बजार मूल्य प्रतिकित्ता ४७४ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया