Nepal Life

खुद ब्याज आम्दानी घट्दा पनि आरएसडीसी लघुवित्तको नाफा ३६ प्रतिशतले बढ्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 21 11:16
खुद ब्याज आम्दानी घट्दा पनि आरएसडीसी लघुवित्तको नाफा ३६ प्रतिशतले बढ्यो

काठमाडौं । थोक कर्जा प्रवाह गर्ने आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी घटे पनि सम्भावित कर्जा नोक्सानी व्यवस्थाको रकम फिर्ता (रिभर्स) भएपछि संस्थाको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ।

Nepal Life
NIMB

गत असार मसान्तसम्म संस्थाले १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १० करोड १८ लाख रुपैयाँको तुलनामा ३५.७६ प्रतिशत बढी हो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म २२ करोड ३६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा घटेर १९ करोड १५ लाख रुपैयाँमा सीमित भएको हो। संस्थाका अनुसार खुद कर्जा प्रवाहमा आएको संकुचनका कारण ब्याज आम्दानीमा कमी आएको हो।

यद्यपि, सञ्चालन नाफा र खुद नाफामा सुधार आउनुमा ५ करोड ५८ लाख रुपैयाँ बराबरको सम्भावित कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) रिभर्स हुनु प्रमुख कारण बनेको छ। यसले संस्थाको नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ।

वित्तीय विवरणअनुसार गत असार मसान्तसम्म संस्थाको कुल वितरणयोग्य नाफा ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ। यस आधारमा वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४ पैसा कायम भएको छ।

यस अवधिमा संस्थाको कस्ट अफ फन्ड्स पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षमा ६.१७ प्रतिशत रहेको कस्ट अफ फन्ड्स घटेर ४.८७ प्रतिशतमा झरेको छ, जसले ब्याज खर्च घटाउन सहयोग पुगेको छ।

त्यसैगरी, संस्थाको बेस रेट पनि ६.९६ प्रतिशतबाट घटेर ५.५३ प्रतिशतमा आएको छ। बेस रेटमा आएको कमीले साझेदार लघुवित्त संस्थाहरूलाई अझ सस्तो ब्याजदरमा थोक कर्जा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।

यद्यपि, संस्थाको निष्क्रिय कर्जा (NPL) भने सामान्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा ३.३४ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात बढेर ३.९२ प्रतिशत पुगेको छ। तर खुद निष्क्रिय कर्जा ०.३६ प्रतिशतमा सीमित रहनु र ११६.७० प्रतिशतको प्रावधान कभरेज कायम रहनुले सम्भावित कर्जा जोखिम व्यवस्थापनमा संस्था अझै सुदृढ अवस्थामा रहेको संकेत गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार