दोलखामा पहिरोले सिनर्जी हाइड्रोपावरको ड्याम क्षेत्र प्रभावित, एक वृद्ध बेपत्ता
- BFIS News
- 2026 Jul 22 11:25
काठमाडौं साउन ६ । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम क्षेत्रमा गएको पहिरोमा परी एक ७३ वर्षीय वृद्ध सम्पर्कविहीन भएका छन्। घटनामा ड्याममा कार्यरत चार कर्मचारीको भने सकुशल उद्धार गरिएको छ।
दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम क्षेत्रमा बुधबार बिहान करिब १ बजे अविरल वर्षापछि गएको पहिरोले ठूलो क्षति पुर्याएको छ।
पहिरोका कारण ड्याम नजिक कर्मचारी बस्ने घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। असुरक्षित अवस्थामा रहेका ड्यामका चार जना कर्मचारीलाई बिहान ७:१५ बजे सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
त्यसैगरी, ड्याम क्षेत्रमै गोठ बनाएर बस्दै आएका गौरीशंकर गाउँपालिका–९ टासिनामका करिब ७३ वर्षीय चस्मान (तसमान) तामाङ पहिरोपछि सम्पर्कविहीन भएका छन्। पहिरोले उनको गोठ पनि बगाएको प्रहरीले जनाएको छ।
घटनामा गोठमा रहेका सात वटा बाख्रा, नौ वटा गाई र तीन वटा गोरु समेत बगेका छन्। बेपत्ता तामाङको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, स्थानीयवासी तथा अन्य सुरक्षा निकाय परिचालित रहेका छन्। खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया