गाभीले नेपालसँग ३ लाख ८ हजार अमेरिकी डलर फिर्ता नमाग्ने
- BFIS News
- 2026 Jul 26 08:26
काठमाडौं साउन १० । खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभी (Gavi) ले नेपालसँग ३ लाख ८ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार मन्त्री निशा मेहताको पहल, विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय छलफल तथा त्यसपछिको पत्राचारका आधारमा गाभीले यस्तो निर्णय गरेको हो।
गाभीले नेपाललाई पठाएको पत्रमा यो निर्णय विशेष र एकपटकका लागि गरिएको स्पष्ट पार्दै भविष्यमा यसलाई नजिरका रूपमा नलिइने उल्लेख गरेको छ।
गाभीले हालसम्म नेपाललाई ५५० मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोग नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोप विस्तार, कोल्ड चेन प्रणाली सुदृढीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ विरुद्धको खोप अभियानमा प्रयोग हुँदै आएको छ।
नेपाल र गाभीबीच सन् २०१४ मा साझेदारी सम्झौता भएपछि सन् २०२२ मा कार्यक्रमको वित्तीय व्यवस्थापनको विशेष अडिट गरिएको थियो। त्यसपछि नेपाल सरकारको अनुरोधमा सन् २०२४ मा पुनः परीक्षण गरिएको थियो।
गाभीले सन् २०२४ नोभेम्बरमा उक्त रकमबारे नेपाल सरकारसँग भुक्तानी योजना मागेको थियो। त्यसपछि मन्त्रालयले सन् २०२६ जुन ४ मा समाधानको प्रस्ताव पठाएको थियो।
सोही प्रस्तावलाई स्वीकार गर्दै गाभीले रकम फिर्ता नमाग्ने र आगामी सहयोगबाट समायोजन गर्ने निर्णय गरेको हो।
गाभीले राष्ट्रिय खोप कार्यक्रमप्रति नेपाल सरकारको प्रतिबद्धता, वित्तीय व्यवस्थापनमा सुधार तथा लेखापरीक्षणका सुझाव कार्यान्वयनको प्रशंसा गर्दै नेपालसँगको दीर्घकालीन सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको मन्त्रालयले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)








.jpeg)


प्रतिक्रिया