सानिमा रिलायन्सकी मोक्तानको सफलता: कोभिडको जुम मिटिङबाट तीनपटक एमडीआरटीसम्म, ‘मिस सेलिङ होइन, विश्वास बेच्नुहोस्’
- BFIS News
- 2026 Jul 28 14:33
काठमाडौं। जीवनमा सफलता प्राप्त गर्न अवसरभन्दा पनि दृढ संकल्प, निरन्तर सिकाइ र अथक मेहनत आवश्यक हुन्छ। यस्तै मेहनतले गर्दा दिलमाया मोक्तान आज सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी सफल चिफ एजेन्सी म्यानेजर बन्न सफल भएकी छन्।
सिन्धुली जिल्लाकी मोक्तानीले सिन्धुलीमै माध्यमिक शिक्षा (एसएलसी) पूरा गरिन्। उनले प्लस टु महेन्द्र बौद्धबाट अध्ययन गरिन्। त्यसपछि त्रिचन्द्र क्याम्पसमा स्नातक तह अध्ययन सुरु गरे पनि जापान जाने सोच र तयारीले उनको पढाइ विचमै रोकियो। जसले गर्दा पढाइलाई निरन्तरता दिन सकिनन्। यद्यपि, शिक्षालाई अधुरो नछोड्ने अठोटका साथ उनी अहिले स्नातक तहको अध्ययन अन्तिम चरणमा पुर्याउँदै छिन्।
कोभिडकालबाट सुरु भएको बीमा यात्रा
दिलमाया मोक्तानको बीमा यात्रा कुनै पूर्वयोजना अनुसार सुरु भएको थिएन। कोभिड–१९ महामारीका बेला उनका दाइ तुलसाङ मोक्तानले साथीको आग्रहमा अनलाइन जुम मिटिङमा सहभागी गराएपछि उनले पहिलो पटक बीमा क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाइन्।
पुस्तक पढ्ने र नयाँ कुरा सिक्ने बानी भएकी मोक्तानले उक्त तालिमलाई केवल ज्ञान आर्जन गर्ने अवसरका रूपमा लिइन्। त्यसबेला शाखा कार्यालयमा विद्यार्थीले बीमा व्यवसाय गर्न सक्दैनन् भन्ने धारणा बलियो थियो। यही कारण उनलाई बीमा पोलिसीको बारेमा विस्तृत जानकारी दिइएन। तर सिक्ने चाहना र आत्मविश्वासले उनलाई रोक्न सकेन।
उनले सुरुमा आर्थिक लाभको अपेक्षा गरेर होइन, अनुभव र ज्ञान हासिल गर्ने उद्देश्यले काम सुरु गरिन्। बैंक खातासम्बन्धी समस्याका कारण केही महिना नियम अनुसार पाउनु पर्ने सेवा सुविधा रोकिए पनि उनले निराश नभई आफ्नो यात्रा निरन्तर अघि बढाइन्।
एउटा प्रस्तुतीकरणले बदलिएको करिअर
कम्पनीले आयोजना गरेको एक बिहानको ‘मर्निङ वाक’ कार्यक्रममा उनले आफ्नो सिकाइ र प्रेरणाको अनुभव प्रस्तुत गरिन्। उनको प्रस्तुतीकरणले व्यवस्थापनको ध्यान खिच्यो। त्यसपछि उनलाई पोखरामा आयोजित एमडीआरटी (MDRT) कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो।
त्यही कार्यक्रममा उनले जीवनकै महत्वपूर्ण संकल्प गरिन्—“म अर्को वर्ष एमडीआरटी बन्नेछु।” त्यो संकल्पलाई उनले कर्ममा परिणत गरिन्। निरन्तर मेहनत र लक्ष्यप्रतिको समर्पणका कारण सन् २०२२ मा उनले पहिलो पटक एमडीआरटी उपलब्धि हासिल गरिन्। त्यसपछि पनि यात्रा रोकिएन। उनले २०२६ र २०२७ का लागि पनि एमडीआरटी हासिल गर्दै आफ्नो सफलताको श्रृंखला विस्तार गरिन्। यसबीच उनले गोधूली क्लब, अग्नि क्लब र हाल ग्यालेक्सी क्लबको उपलब्धि समेत प्राप्त गरेकी छन्।
विवाह, मातृत्व र करिअर : चुनौतीसँगै निरन्तरता
एमडीआरटी हासिल गरेपछि उनको विवाह भयो। त्यसपछि मातृत्वको जिम्मेवारी थपियो। श्रीमान् रोजगारीका लागि दक्षिण कोरियामा रहेका कारण घर, बच्चा र पेशागत जिम्मेवारी एक्लैले सम्हाल्नुपर्ने अवस्था थियो।
यद्यपि उनले कुनै पनि परिस्थितिलाई आफ्नो लक्ष्यको बाधा बन्न दिइनन्। बच्चा सानो हुँदा पनि उनले वार्षिक रूपमा करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भइन्।
उनका अनुसार सफलताको पछाडि धेरै त्याग लुकेका छन्। कहिलेकाहीँ बिरामी बच्चालाई घरमै छोडेर कार्यक्रममा सहभागी हुनुपरेको छ। कतिपय दिन लगातार क्लाइन्ट भेटघाटका कारण खाना खाने समयसमेत नपाएको अनुभव उनीसँग छ।
सामाजिक सञ्जालमा “छोरीको माया लाग्दैन?” भन्ने प्रश्नको जवाफ दिँदै उनले एक भिडियोमार्फत भनेकी थिइन्, “आफ्नो बच्चालाई कसको माया लाग्दैन र? मैले कमाएको प्रत्येक रुपैयाँ मेरो छोरीको भविष्यका लागि हो।”
विश्वास नै सबैभन्दा ठूलो पूँजी
दिलमाया मोक्तानका अनुसार बीमा व्यवसाय बीमा पोलिसी बिक्री गर्ने व्यवसाय मात्र होइन, विश्वास निर्माण गर्ने पेशा हो। “बीमा पोलिसी राम्रो भएर मात्र पुग्दैन। तपाईंको व्यवहार, व्यक्तित्व र दीर्घकालीन सम्बन्ध नै सफलताको आधार हो,” उनी भन्छिन्।
उनले हालसम्म करिब ५०० वटा बीमा पोलिसी बिक्री गरिसकेकी छन्। आफ्नो करिअरमा अहिलेसम्म आफूले सेवा दिएका ग्राहकको मृत्यु दाबी प्रक्रिया सामना गर्न नपरेको बताउँदै उनी एउटा अविस्मरणीय अनुभव सम्झिन्छिन्।
एक महिलाले श्रीमान्को असहमति हुँदाहुँदै लुकाएर बीमा गराएकी थिइन्। केही वर्षपछि आर्थिक कठिनाइका बेला सोही बीमाको रकम परिवारको ठूलो सहारा बनेको थियो। त्यसपछि ती ग्राहकले दिएको धन्यवादले आफ्नो पेशाप्रतिको विश्वास अझ बलियो बनाएको मोक्तान बताउँछिन्।
मिस सेलिङभन्दा दीर्घकालीन सम्बन्ध महत्वपूर्ण
मोक्तान बीमा व्यवसायमा दीर्घकालीन सम्बन्धलाई प्राथमिकता दिन्छिन्। उनका अनुसार ग्राहकलाई भ्रममा पारेर क्षणिक व्यापार गर्नुभन्दा सही परामर्श दिनु नै सफल एजेन्सीको पहिचान हो।
“बरु ग्राहकले बीमा नगरून्, तर गलत जानकारीका आधारमा बीमा गर्नु हुँदैन। म मिस–सेलिङ हुन नदिन सधैं सचेत छु,” उनले स्पष्ट पारिन्। उनको लक्ष्य केवल बीमा बिक्री गर्नु होइन, आगामी १५–२० वर्षसम्म ग्राहकसँग विश्वासको सम्बन्ध कायम राख्नु हो।
कम्पनीको साथ र परिवारको बलियो साथ
मोक्तान कम्पनीबाट प्राप्त तालिम, सेवा–सुविधा र व्यवस्थापकीय सहयोगप्रति पूर्ण सन्तुष्ट रहेको बताउँछिन्। उनका अनुसार कम्पनीले आवश्यक प्रशिक्षण र अवसर प्रदान गर्न कुनै कमी गरेको छैन।
त्यसैगरी, आफ्नो सफलताको सबैभन्दा ठूलो आधार परिवार रहेको उनी स्वीकार्छिन्। बच्चाको हेरचाहदेखि दैनिक जिम्मेवारीसम्म परिवारले गरेको सहयोगबिना आफू आजको स्थानमा पुग्न नसक्ने उनको भनाइ छ।
“घर मेरो स्वर्ग हो। घरबाट सकारात्मक ऊर्जा लिएर निस्किएपछि मात्रै म बाहिर सक्रिय र आत्मविश्वासी भएर काम गर्न सक्छु,” उनी भन्छिन्।
प्रेरणादायी उदाहरण,
सिन्धुलीकी एक साधारण विद्यार्थीबाट सुरु भएको दिलमाया मोक्तानको यात्रा आज बीमा उद्योगमा प्रेरणाको कथामा रूपान्तरण भएको छ। शिक्षालाई निरन्तरता दिने अठोट, सिकाइप्रतिको लगाव, चुनौतीलाई अवसरमा बदल्ने क्षमता, मातृत्वसँगै करिअरलाई सन्तुलनमा राख्ने साहस र ग्राहकसँग विश्वासको सम्बन्ध निर्माण गर्ने प्रतिबद्धताले उनलाई सफल बीमा व्यवसायीका रूपमा स्थापित गरेको छ।
उनको कथा व्यक्तिगत सफलता मात्रै नभएर मेहनत, धैर्य, इमानदारी र निरन्तर सिकाइले जुनसुकै चुनौतीलाई जित्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया