डिजिटल वित्तीय ठगी बढ्दो, शंकास्पद गतिविधि समयमै चिनेर सतर्क रहन राष्ट्र बैंकको आग्रह
- BFIS News
- 2026 Jul 28 14:59
काठमाडौं । डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन वित्तीय सेवाको प्रयोग विस्तारसँगै साइबरमार्फत हुने वित्तीय ठगीका घटना पनि बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई शंकास्पद गतिविधि समयमै पहिचान गरी सचेत रहन आग्रह गरेको छ।
केन्द्रीय बैंकले वित्तीय ठगीबाट जोगिन सम्भावित जोखिमका संकेत चिन्नु नै सबैभन्दा प्रभावकारी उपाय भएको जनाएको छ।
नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सोमबार जारी गरेको वित्तीय साक्षरता सन्देशमा ठगी गर्ने समूहले विभिन्न बहाना र विश्वासिलो देखिने माध्यम प्रयोग गरेर पैसा वा गोप्य वित्तीय जानकारी हासिल गर्ने प्रयास गर्ने भएकाले अस्वाभाविक गतिविधिप्रति विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार प्रविधिको विकाससँगै वित्तीय ठगीका स्वरूप पनि परिवर्तन भइरहेका छन्। त्यसैले जोसुकै व्यक्ति यस्ता गतिविधिको जोखिममा पर्न सक्ने भएकाले सम्भावित ‘रेड फ्ल्याग’ समयमै पहिचान गर्न आवश्यक छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेका प्रमुख संकेतहरूमा अपरिचित व्यक्ति वा संस्थाबाट लिङ्क तथा फाइल पठाएर खोल्न आग्रह गर्नु, अस्वाभाविक शैलीमा संवाद गर्नु, तत्काल रकम पठाउन दबाब सिर्जना गर्नु तथा बैंकिङ वा वित्तीय विवरण माग्नु रहेका छन्।
त्यस्तै, परिचित खाताको सट्टा फरक वा अपरिचित खातामा रकम जम्मा गर्न लगाउनु, सामाजिक सञ्जालमार्फत मात्र सम्पर्क गरी कारोबार गर्न खोज्नु, युजरनेम, पासवर्ड, पिन वा ओटीपीजस्ता गोप्य विवरण माग्नु पनि ठगीका संकेत हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। अत्यधिक नाफा हुने तर कुनै जोखिम नरहेको दाबी गर्दै आकर्षक प्रस्ताव राख्नु, तुरुन्त निर्णय गर्न दबाब दिनु वा नयाँ बैंक खाता तथा विवरण उपलब्ध गराउन आग्रह गर्नु पनि शंकास्पद गतिविधिका रूपमा उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार यस्ता ठगीमा परेपछि पीडितले अन्जानमै रकम स्थानान्तरण गर्न सक्छन्। साथै युजरनेम, पासवर्ड, पिन र ओटीपीजस्ता गोप्य विवरण चोरी हुन सक्ने, मोबाइल वा कम्प्युटरमा रिमोट पहुँच स्थापना गरी बैंकिङ सेवामाथि अनधिकृत नियन्त्रणसमेत लिन सकिने जोखिम रहेको छ।
कुनै वित्तीय कारोबार शंकास्पद लागेमा हतारमा रकम नपठाउन, सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता पुष्टि गर्न तथा आवश्यक परे नेपाल प्रहरीको साइबर ब्युरो, सम्बन्धित बैंक तथा वित्तीय संस्था वा नियामक निकायसँग सम्पर्क गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।
वित्तीय सेवासम्बन्धी गुनासो दर्ता गर्न राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टल प्रयोग गर्न सकिने तथा वित्तीय ग्राहक संरक्षण इकाइको टेलिफोन ०१–५७१९६०५ मा पनि सम्पर्क गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया