चिकित्सकमाथिको आक्रमणको विरोधमा आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द, देशभर बिरामी प्रभावित
- BFIS News
- 2026 Jul 28 15:10
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
आन्दोलनका कारण विभिन्न अस्पतालमा नियमित उपचार सेवा प्रभावित हुँदा बिरामीहरू समस्यामा परेका छन्।
नेपाल चिकित्सक संघले गत शनिबार नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधस्वरूप आन्दोलनका कार्यक्रमअन्तर्गत देशव्यापी सेवा बन्द गरेको जनाएको छ। संघका अनुसार उक्त घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको थियो।
संघले घटनापछि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रहरी परिचालन गरी आफ्ना केन्द्रीय कार्यकारिणी समिति सदस्य, नारायणी शाखाका अध्यक्ष तथा अन्य चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरिएको आरोप पनि लगाएको छ।
आक्रमणमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न माग गर्दै संघले आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको हो। आन्दोलनका कारण काठमाडौंका स्तूपा सामुदायिक अस्पताल, एभरेष्ट अस्पताल, भेनस अस्पताललगायत देशका विभिन्न स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा प्रभावित भएको छ।
नेपाल चिकित्सक संघले दोषीमाथि कानुनी कारबाही नभए आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी दिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया