एनआईसी एशिया बैंक र चन्द्रागिरि हिल्सले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा दिए निवेदन
- BFIS News
- 2026 Jul 29 10:52
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एनआईसी एशिया बैंक लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन्। बोर्डले दुवै कम्पनीको प्रस्तावलाई प्रारम्भिक अध्ययन (प्रिलिमिनरी रिभ्यु) प्रक्रियामा समावेश गरेको छ।
एनआईसी एशिया बैंकले असार २४, २०८३ मा सेबोनमा आवेदन दर्ता गरेको हो। बैंकले हालका शेयरधनीलाई २ कित्ता बराबर १ कित्ता (२ः१) अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावअनुसार बैंकले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर जारी गरी करिब रु. ७ अर्ब ४५ करोड बराबरको पूँजी संकलन गर्ने योजना बनाएको छ। बैंकको हालको चुक्ता पूँजी रु. १५ अर्ब ७१ करोड रहेको छ। हकप्रद निष्कासनको व्यवस्थापनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
यस्तै, चन्द्रागिरि हिल्स लिमिटेड ले पनि साउन ६, २०८३ मा सेबोनमा हकप्रद शेयर निष्कासनको अनुमति माग्दै आवेदन दिएको छ।
कम्पनीले विद्यमान शेयरधनीलाई १ कित्ता बराबर १ कित्ता (१ः१) अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार कम्पनीले १ करोड ६१ लाख ७ हजार ९५५ कित्ता हकप्रद शेयर निष्कासन गरी रु. १ अर्ब ६१ करोड बराबरको पूँजी जुटाउने योजना बनाएको छ।
हाल कम्पनीको चुक्ता पूँजी रु. १ अर्ब ६१ करोड रहेको छ। प्रस्तावित हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी बढेर रु. ३ अर्ब २२ करोड पुग्नेछ।
चन्द्रागिरि हिल्सको हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
सेबोनबाट आवश्यक स्वीकृति प्राप्त भएपछि दुवै कम्पनीले सम्बन्धित हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाउनेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया