निर्जीवन बीमा कम्पनीको व्यवसाय साढे ५० अर्ब नाघ्यो, शिखर सबैभन्दा ठूलो, वृद्धिदरमा एनएलजी अगाडि
- BFIS News
- 2026 Jul 29 19:26
काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्दै व्यवसाय विस्तार गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा कुल बीमा शुल्क १५.१२ प्रतिशतले वृद्धि भएको हो।
उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा यी कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ रहेको थियो। एक वर्षमै करिब ६ अर्ब ६५ करोड रुपैयाँ थप बीमा शुल्क संकलन भएको देखिन्छ, जसले निर्जीवन बीमा क्षेत्रमा व्यवसाय विस्तारको गति कायम रहेको संकेत गरेको छ।
कुल बीमा शुल्क आर्जनका आधारमा शिखर इन्स्योरेन्स लगातार अग्रस्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.३८ प्रतिशत बढी हो।
दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्दै ८.४० प्रतिशत वार्षिक वृद्धि हासिल गरेको छ। त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै ३१.०६ प्रतिशतको उल्लेखनीय वृद्धि दर्ज गरेको छ। चौथो स्थानमा रहेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको व्यवसाय १७.७३ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ११ लाख रुपैयाँ पुगेको छ।
वृद्धिदरका हिसाबले भने एनएलजी इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको कुल बीमा शुल्क ३७.३० प्रतिशतले वृद्धि भई ४ अर्ब २० करोड ७९ लाख रुपैयाँ पुगेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि ३१ प्रतिशतभन्दा बढी वृद्धि गर्दै दोस्रो उच्च वृद्धिदर कायम गरेको छ।
अन्य कम्पनीहरूको प्रदर्शन पनि सकारात्मक रहेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा शुल्क ०.१७ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ११.३७ प्रतिशतले बढेर ३ अर्ब ६५ करोड ५० लाख रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सको २०.२४ प्रतिशतले बढेर ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ११.९५ प्रतिशतले बढेर ३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ तथा सानिमा जिआईसी इन्स्योरेन्सको १४.०१ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ८ करोड २० लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी नेपाल इन्स्योरेन्सले २ अर्ब २१ करोड ६२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्दै ८.७७ प्रतिशत वृद्धि हासिल गरेको छ भने प्रभु इन्स्योरेन्सको व्यवसाय ८.२१ प्रतिशत बढेर २ अर्ब २ करोड २८ लाख रुपैयाँ पुगेको छ। राष्ट्रिय बीमा कम्पनीको कुल बीमा शुल्क १ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने नेशनल इन्स्योरेन्सले १ अर्ब २९ करोड ७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ।
यद्यपि कुल बीमा शुल्कको आकारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहे पनि वृद्धिदरका आधारमा एनएलजी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा प्रभावशाली विस्तार गरेका छन्। समग्र तथ्यांकले निर्जीवन बीमा क्षेत्रमा प्रतिस्पर्धासँगै व्यवसाय विस्तारको प्रवृत्ति अझ सुदृढ बन्दै गएको देखाएको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया