साहस ऊर्जाको विद्युत बिक्री र नाफा दुवै बढ्यो, खुद नाफा ५२ प्रतिशतले उकालो, इपिएस २९.७२ रुपैयाँ
- BFIS News
- 2026 Aug 02 11:16
काठमाडौं । साहस ऊर्जाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी वृद्धि र वित्तीय खर्चमा उल्लेख्य कमी आएपछि खुद नाफामा उल्लेखनीय सुधार गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ८९ करोड ५१ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको नाफा वार्षिक रूपमा ५१.८४ प्रतिशतले वृद्धि भएको हो।
सोलुखुम्बु जिल्लामा रहेको ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको कम्पनीले गत आर्थिक वर्ष २ अर्ब ८४ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी २ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको प्रत्यक्ष कर तथा अमोर्टाइजेसनअघिको नाफा १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च कटौतीपछि सञ्चालन नाफा १ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ।
नाफा वृद्धिमा वित्तीय खर्च घट्नु पनि प्रमुख कारण बनेको छ। अघिल्लो आर्थिक वर्ष ८० करोड २१ लाख रुपैयाँ रहेको वित्तीय खर्च (ब्याज दायित्व) घटेर समीक्षा अवधिमा ५७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।
वित्तीय सूचकहरूमा पनि कम्पनीले सुधार देखाएको छ। कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ। जगेडा कोष अघिल्लो आर्थिक वर्षको ३ अर्ब १६ करोड २० लाख रुपैयाँबाट बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, कम्पनीको मध्यम तथा दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा झरेको छ। कुल सम्पत्ति भने १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
यसैबीच, कम्पनीले आफ्नो सहायक कम्पनी टाइम्स एनर्जी प्राइभेट लिमिटेडमार्फत ३४१ मेगावाट क्षमताको बुढीगण्डकी ‘क’ जलविद्युत आयोजना अघि बढाइरहेको छ। उक्त आयोजनाको लगानी व्यवस्थापनका लागि हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित आवश्यक प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)









.jpg)

प्रतिक्रिया