Nepal Life

विशेष सूचनापछि उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको खानतलासी, शंकास्पद सामग्री फेला परेन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 03 14:48
विशेष सूचनापछि उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको खानतलासी, शंकास्पद सामग्री फेला परेन

विराटनगर । मोरङ प्रहरीले विशेष सूचनाका आधारमा विराटनगरका उद्योगी तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा सोमबार बिहान खानतलासी गरेको छ।

Nepal Life
NIMB

प्रहरीका अनुसार अवैध स्रोतको नगद लुकाएर राखिएको भन्ने सूचनाको आधारमा खोजी गरिए पनि कुनै शंकास्पद सामग्री वा नगद फेला परेको छैन।

मोरङ प्रहरीको टोलीले सोमबार बिहान करिब ४ बजेदेखि विराटनगर–७ स्थित मुन्दडाको निजी निवास र व्यावसायिक कार्यालयमा एकसाथ खानतलासी सञ्चालन गरेको थियो। प्रहरीले अवैध स्रोतको नगद तथा त्यससँग सम्बन्धित हुन सक्ने कागजातको खोजीका लागि सर्च अपरेसन सञ्चालन गरेको जनाएको छ।

खानतलासीका क्रममा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा डीएसपी मकेन्द्रकुमार मिश्र, सन्तोष श्रेष्ठ, लोकेन्द्रसिंह गुरु तथा इन्स्पेक्टर प्रवीण घिमिरेसहितको टोली परिचालन गरिएको थियो। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले निवास आसपासको क्षेत्रलाई केही समय नियन्त्रणमा लिइएको थियो भने जिल्ला प्रशासन कार्यालय र गोल्छा मोडतर्फ जाने सडकसमेत केही समयका लागि बन्द गरिएको थियो।

प्रहरीले निवास र कार्यालयको विस्तृत खोजी गरे पनि अवैध नगद, शंकास्पद कागजात वा अनुसन्धानसँग सम्बन्धित अन्य कुनै सामग्री फेला नपरेको जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कटवालले विशेष सूचना प्राप्त भएपछि त्यसको सत्यता परीक्षण गर्न खानतलासी गरिएको बताए। उनका अनुसार प्राप्त सूचनाका आधारमा खोजी गरिए पनि त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण फेला परेन।

प्रहरीले सूचनाको स्रोत तथा अनुसन्धानसँग सम्बन्धित थप विवरण सार्वजनिक गरेको छैन। घटनापछि विराटनगरको उद्योग तथा व्यापारिक क्षेत्रमा भने यस विषयले व्यापक चासोको विषय बनेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया