Nepal Life

बीमा बजारमा नेपाल लाइफको एकल दबदबा, शीर्ष तीन कम्पनीको हिस्सा करिब ५० प्रतिशत

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 04 17:32
बीमा बजारमा नेपाल लाइफको एकल दबदबा, शीर्ष तीन कम्पनीको हिस्सा करिब ५० प्रतिशत

काठमाडौं । यस वर्ष पनि सञ्चालनमा रहेका १७ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले गएका वर्षमा झै यस वर्षमा पनि सबैभन्दा ठूलो बजार हिस्सा कायम राखेको छ। आर्थिक वर्षको कुल बीमाशुल्क (प्रथम र नवीकरण) तर्फ नेपाल लाइफले एक्लैले कुल बजारको २६.६८ प्रतिशत हिस्सा ओगटेको छ भने शीर्ष तीन कम्पनीले संयुक्त रूपमा करिब ४९.५ प्रतिशत बजार आफ्नो नियन्त्रणमा राखेका छन्।

Nepal Life
NIMB

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले आर्थिक वर्षभरिमा कुल रु. २  खर्ब ४ अर्ब बराबरको बीमाशुल्क संकलन गरेका छन्। यसमध्ये प्रथम बीमाशुल्क करिब रु. ५३ अर्ब ८७ करोड तथा नवीकरण बीमाशुल्क रु. १ एक खर्ब ५० अर्ब रहेको छ। नवीकरण बीमाशुल्क प्रथम बीमाशुल्कभन्दा झन्डै तीन गुणा बढी रहेकाले बीमितहरूले आफ्नो बीमा नवीकरण गर्ने प्रवृत्ति बलियो रहेको देखिएको छ।

कुल बीमाशुल्कका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले ५३ अर्ब ६८ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गर्दै २६.६८ प्रतिशत बजार हिस्सा सुरक्षित गरेको छ। कम्पनी प्रथम बीमाशुल्कतर्फ २५.८९ प्रतिशत तथा नवीकरण बीमाशुल्कतर्फ २६.९४ प्रतिशत हिस्सासहित दुवै सूचकमा अग्रस्थानमा रहेको छ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दै १२.२७ प्रतिशत बजार हिस्सा कायम गरेको छ। कम्पनीको प्रथम बीमाशुल्कको हिस्सा १३.७५ प्रतिशत रहे पनि नवीकरणतर्फ ११.७७ प्रतिशत रहेको छ। नेशनल प्रथम बीमा शुल्कको बजार हिस्सामा आक्रामक देखिदै आएको छ।

तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले २१ अर्ब २३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरी १०.५५ प्रतिशत बजार हिस्सा ओगटेको छ। कम्पनीको नवीकरण बीमाशुल्कमा ११.७४ प्रतिशत हिस्सा रहेकाले दीर्घकालीन बीमितको आधार बलियो रहेको देखिन्छ।

चौथो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सले ९.२२ प्रतिशत बजार हिस्सा कायम गरेको छ। कम्पनीको कुल बीमाशुल्क १८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ, जसमा नवीकरण बीमाशुल्कको योगदान उल्लेखनीय रहेको छ।

त्यसपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स ६.४१ प्रतिशत बजार हिस्सासहित पाँचौं स्थानमा रहेको छ। कम्पनीले प्रथम बीमाशुल्कतर्फ ७.४२ प्रतिशत हिस्सा ओगटे पनि नवीकरणतर्फ ६.०८ प्रतिशतमा सीमित रहेको देखिन्छ।

छैटौं स्थानमा रहेको एशियन लाइफ इन्स्योरेन्स को बजार हिस्सा ५.१९ प्रतिशत छ। कम्पनीले प्रथम र नवीकरण दुवै बीमाशुल्कमा तुलनात्मक रूपमा सन्तुलित प्रदर्शन गरेको देखिन्छ।

राष्ट्रिय जीवन बीमा कम्पनी ४.७९ प्रतिशत बजार हिस्सासहित सातौं स्थानमा रहेको छ। कम्पनीको प्रथम बीमाशुल्क हिस्सा केवल १.५८ प्रतिशत भए पनि नवीकरण बीमाशुल्क ५.८७ प्रतिशत रहेकाले पुराना बीमितको आधार बलियो रहेको संकेत गर्छ।

सिटिजन लाइफ इन्स्योरेन्स ४.५६ प्रतिशत बजार हिस्सासहित आठौं स्थानमा छ। कम्पनीले प्रथम बीमाशुल्कमा ६.१५ प्रतिशत हिस्सा ओगटे पनि नवीकरण बीमाशुल्क ४.०२ प्रतिशतमा सीमित रहेको छ।

त्यसैगरी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ३.९७ प्रतिशत बजार हिस्सासहित नवौं तथा आइएमई लाइफ इन्स्योरेन्स ३.७० प्रतिशत हिस्सासहित दशौं स्थानमा रहेका छन्।

मध्य समूहमा मेट लाइफ ३.४१ प्रतिशत, रिलायबल नेपाल लाइफ ३.१९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ ३.१५ प्रतिशत तथा सन नेपाल लाइफ २.३० प्रतिशत बजार हिस्सासहित रहेका छन्।

यता, माइक्रो जीवन बीमा कम्पनीहरूको बजार उपस्थिति भने अत्यन्तै सीमित देखिएको छ। गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ ले समान ०.२१ प्रतिशत तथा लिभटी माइक्रो लाइफ ले ०.१८ प्रतिशत मात्र बजार हिस्सा ओगटेका छन्। यी तीन माइक्रो जीवन बीमा कम्पनीहरूको संयुक्त बजार हिस्सा १ प्रतिशतभन्दा कम रहेको तथ्यांकले देखाएको छ।

नेपालको जीवन बीमा बजारमा अझै पनि ठूला कम्पनीहरूको प्रभाव कायम रहेको छ। शीर्ष तीन कम्पनीले झन्डै आधा बजार नियन्त्रणमा राखेका छन् भने अधिकांश कम्पनीको वृद्धि नवीकरण बीमाशुल्कमा निर्भर देखिएको छ। साथै, प्रथम बीमाशुल्कमा राम्रो प्रदर्शन गरेका केही कम्पनीका लागि नवीकरण दर बढाउनु आगामी प्रतिस्पर्धाको महत्वपूर्ण आधार बन्न सक्ने विश्लेषण गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया