बाढीका कारण रसुवागढी नाकाबाट राजस्व संकलन प्रभावित, लक्ष्यको ३४ प्रतिशत मात्रै उठ्यो
- BFIS News
- 2026 Aug 04 13:38
काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार रसुवागढी नाकामा आएको बाढीका कारण गत आर्थिक वर्ष आयात–निर्यात प्रभावित हुँदा रसुवा भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा निकै कम भएको छ। कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा वार्षिक लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व संकलन गरेको छ।
रसुवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष १३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको छ। उक्त वर्षका लागि कार्यालयलाई ४० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो।
प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट हुने आयात–निर्यात लामो समय अवरुद्ध भएको थियो। त्यसको प्रत्यक्ष प्रभाव व्यापार गतिविधि र राजस्व संकलनमा परेको उनले बताए।
भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी नाकाबाट ४३ अर्ब ७३ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने यही नाकाबाट ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको आयात भएको थियो। यसले एक वर्षको अवधिमा आयात मूल्य करिब आधाले घटेको देखाउँछ।
यसैबीच, चालु आर्थिक वर्ष २०८३/८४ का लागि रसुवा भन्सार कार्यालयलाई २५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको छ।
कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार वर्षायाममा प्राकृतिक विपद्का कारण सडक अवरुद्ध हुने जोखिम कायम रहे पनि बेली ब्रिज निर्माण र सडक मर्मतका लागि चिनियाँ कम्पनी आवश्यक उपकरणसहित तयारी अवस्थामा रहेकाले यस वर्ष नाका लामो समय बन्द नहुने अपेक्षा गरिएको छ।
रसुवागढी नाका चीनको तिब्बतस्थित केरुङसँग जोडिएको नेपालको प्रमुख उत्तरी व्यापारिक मार्ग हो। यस नाकामार्फत तयारी पोसाक, विद्युतीय सामग्री, जलविद्युत् आयोजनाका उपकरण, विद्युतीय सवारीसाधन, फलफूल तथा अन्य औद्योगिक वस्तु नेपाल भित्रिने गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया