Nepal Life

प्रतिनिधिसभामा सरकारको आलोचना, सीमा विवाद र सुनसरी घटनाबारे प्रधानमन्त्रीसँग जवाफ माग

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 04 13:47
प्रतिनिधिसभामा सरकारको आलोचना, सीमा विवाद र सुनसरी घटनाबारे प्रधानमन्त्रीसँग जवाफ माग

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सीमा विवाद र सुनसरीमा भएको साम्प्रदायिक हिंसाका विषयलाई उठाउँदै प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन्।

Nepal Life
NIMB

बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले विरोध जनाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक प्रारम्भ गरेपछि विपक्षी सांसदहरूले प्रधानमन्त्रीले गत जेठ ३१ गते नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उनीहरूले उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीबाट औपचारिक जवाफ दिन माग गरेका छन्।

बैठकमा नेकपा (एमाले)का सांसद गुरु बरालले सीमाक्षेत्रमा देखिएका समस्याप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाए। उनले सुस्ता क्षेत्रमा भारतीय सुरक्षा निकायका कर्मचारीहरू नागरिकको भेषमा सक्रिय रहेको भन्ने समाचारप्रति सरकारको ध्यानाकर्षण गराउँदै सीमा सुरक्षाको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे।

बरालले सुनसरी तथा मधेशका केही जिल्लामा हालै भएको साम्प्रदायिक हिंसामा चार जनाको मृत्यु भएको उल्लेख गर्दै त्यस घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए। घटनाको वास्तविक कारण पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र न्यायिक आयोग गठन गर्न उनले माग गरे।

त्यसैगरी, नेपाली कांग्रेसका प्रमुख सचेतक निश्चल राईले सुनसरी घटनापछि धनुषामा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको १३ बुँदे सहमतिप्रति प्रश्न उठाए। उनले कर्फ्यु हटाउने वा सडक सञ्चालन गराउने मात्र उपायले दीर्घकालीन शान्ति कायम नहुने उल्लेख गर्दै समुदायबीचको विश्वास पुनःस्थापना र नागरिकमा सुरक्षा अनुभूति दिलाउने दीर्घकालीन रणनीति आवश्यक रहेको बताए।

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले सीमा सुरक्षा, साम्प्रदायिक सद्भाव र शान्ति–सुरक्षासम्बन्धी विषयमा सरकारको स्पष्ट धारणा र प्रभावकारी कदमको माग गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया