Nepal Life

५३ देशको यात्रा, ६ महादेशको अनुभव र बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान: धर्मराज भण्डारीको प्रेरणादायी यात्रा

Sagarmatha Lumbini
  • आयुश बस्नेत
  • 2026 Aug 04 13:49
५३ देशको यात्रा, ६ महादेशको अनुभव र बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान: धर्मराज भण्डारीको प्रेरणादायी यात्रा

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा दशकभन्दा लामो अनुभव बोकेका धर्मराज भण्डारीले आफ्नो व्यावसायिक यात्रालाई राष्ट्रिय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय मञ्चसम्म विस्तार गरेका छन्। निजामती सेवाबाट बीमा क्षेत्रमा प्रवेश गरेका भण्डारी आज अन्तर्राष्ट्रिय स्तरको MDRT (Million Dollar Round Table) का लाइफ मेम्बरका रूपमा परिचित छन्। उनले बीमाकै माध्यमबाट हालसम्म ५३ देशको भ्रमण गरिसकेका छन् भने अन्टार्कटिका बाहेक ६ वटा महादेश पुगिसकेका छन्।

Nepal Life
NIMB

भण्डारी हाल काठमाडौंको बानेश्वरमा बसोबास गर्छन्। उनी विगत १५ महिनादेखि नेशनल लाइफ इन्स्योरेन्ससँग आबद्ध छन्। त्यसअघि उनले एलआईसी नेपालमा करिब ११ वर्ष बीमितको सेवामा दत्त चित्त भएर काम गरे।

निजामती सेवाबाट बीमा व्यवसायसम्मको यात्रा

भण्डारीले आफ्नो करिअर निजामती सेवाबाट सुरु गरेका थिए। निजामती क्षेत्रमा कार्यरत रहँदा उनले पहिलो पटक जीवन बीमाको बारेमा थाहाँ पाए। सुरुमा आफ्नै बीमा गराएपछि यस क्षेत्रप्रति रुचि बढ्दै गएको उनी बताउँछन्।

बीमाको अवधारणा बुझ्दै जाँदा यसले व्यक्तिको आर्थिक सुरक्षामा पुर्‍याउने योगदानले आफूलाई आकर्षित गरेको र अन्तत २०७३/७४ सालतिर निजामती सेवा छाडेर पूर्णकालीन रूपमा बीमा व्यवसायमा लागेको उनले बताए।

हजारौँ परिवारसँग जोडिएको विश्वास

एलआईसी नेपालमा कार्यरत रहँदा भण्डारीले १६ सय भन्दा धेरैलाई जीवन बीमा गराउन सफल हुनुका साथै उनिहरुलाई बीमाको दायरामा ल्याएर पुन्यको काम गरे। उनका अनुसार बीमा बिक्री मात्र नभई ग्राहकलाई वित्तीय सुरक्षाबारे स्पष्ट रूपमा बुझाउन सक्नु नै सफल अभिकर्ताको सबैभन्दा ठूलो क्षमता हो।

उनले सफल बीमा अभिकर्ताका लागि पोलिसीको गहिरो ज्ञान, कम्पनीको नीति तथा ग्राहकका जिज्ञासाको विश्वसनीय जवाफ दिन सक्ने क्षमता अनिवार्य हुने बताउँछन्। तथ्य र प्रमाणका आधारमा विश्वास निर्माण गर्न सक्ने अभिकर्ताले मात्र दीर्घकालीन सफलता हासिल गर्ने उनको धारणा छ।

MDRT मा अन्तर्राष्ट्रिय पहिचान

भण्डारी सन् २०१४ देखि लगातार MDRT सँग आबद्ध छन्। उनी MDRT का लाइफ मेम्बर हुन्। उनका अनुसार लगातार १० पटक MDRT को योग्यता पूरा गरी आधिकारिक रूपमा दर्ता भएपछि मात्र लाइफ मेम्बरको मान्यता प्राप्त हुन्छ। नेपालको जीवन बीमा उद्योगमा यस्तो मान्यता प्राप्त गर्ने व्यक्तिहरू अत्यन्तै सीमित रहेको र आफू तेस्रो नेपाली लाइफ मेम्बर रहेको उनको दाबी छ।

उनले अमेरिकामा आयोजित MDRT को वार्षिक सम्मेलनमा हजारौँ सहभागीबीच मञ्चबाट सम्बोधन गर्ने अवसर पनि पाएका छन्। पछिल्लो सम्मेलन मियामी बीचमा आयोजना भएको थियो भने सन् २०२७ मा फ्लोरिडाको ओर्ल्यान्डोमा हुने MDRT को शतवार्षिकी सम्मेलनमा सहभागी हुने तयारीमा रहेको उनले बताए।

'MDRT आधिकारिक दर्तापछि मात्रै मान्यता'

भण्डारीका अनुसार MDRT केवल कम्पनीले प्रदान गर्ने सम्मान वा उपाधि होइन, यो अमेरिकाको शिकागोस्थित मुख्यालयमा आधिकारिक रूपमा दर्ता भएपछि मात्र प्राप्त हुने अन्तर्राष्ट्रिय व्यावसायिक मान्यता हो।

उनले MDRT को लोगो, प्रमाणपत्र वा उपाधिको अनधिकृत प्रयोग कानुनी रूपमा स्वीकार्य नहुने दाबी गर्दै सम्बन्धित संस्थाले ट्रेडमार्क र कपीराइट संरक्षणलाई कडाइका साथ लागू गर्ने गरेको बताए। उनका अनुसार निर्धारित प्रिमियमको लक्ष्य पूरा गरी कम्पनीको प्रमाणीकरणपछि मात्रै MDRT मा दर्ता गर्न सकिन्छ। लगातार १० पटक योग्यता पूरा गरेपछि भने सदस्यले कम्पनीको थप प्रमाणीकरणबिना पनि आफ्नो प्रोफाइलमार्फत सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था रहेको उनले जानकारी दिए। नेपालमा बीमा कम्पनीहरुले एमडिआरटीलाई केवल व्यवसाय प्रवर्द्धनको माध्यन बनाएको तर त्यसको आधिकारिकतामा ध्यान नदिएकोले भविष्यमा ठुलो क्षति बेहोर्नु पर्ने तर्फ पनि सचेत गराएका छन्।

बीमाले दिलाएको विश्व भ्रमण

भण्डारी आफ्नो व्यावसायिक यात्राको सबैभन्दा ठूलो उपलब्धि बीमाले दिलाएको अन्तर्राष्ट्रिय अनुभवलाई मान्छन्। बीमा व्यवसायकै कारण आफूले ५३ वटा देश भ्रमण गरेको र विश्वका ६ महादेश पुगेको उनी बताउँछन्।

उनका अनुसार आर्थिक उपलब्धिभन्दा पनि अन्तर्राष्ट्रिय सम्मेलन, विभिन्न देशका सफल बीमा व्यवसायीहरूसँग अनुभव आदानप्रदान तथा विश्वव्यापी नेटवर्क निर्माणले आफ्नो व्यावसायिक क्षमता अझ परिष्कृत भएको छ।

सीप, निरन्तरता र विश्वसनीयतामै सफलता

भण्डारीको बुझाइमा बीमा क्षेत्रमा दीर्घकालीन सफलता हासिल गर्न प्रतिभा, ज्ञान, निरन्तर मेहनत र ग्राहकप्रतिको इमानदारी अपरिहार्य छन्। अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसर एक दिनको उपलब्धि नभई वर्षौँको निरन्तर अभ्यास, लक्ष्यप्रतिको प्रतिबद्धता र व्यावसायिक अनुशासनको परिणाम भएको उनी बताउँछन्।

नेपालको बीमा उद्योगलाई अझ व्यावसायिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउन अभिकर्ता, कम्पनी र नियामक निकाय सबैले आ-आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

४७ देशबाट सिकेको बीमा ज्ञानलाई नेपालमा बाँड्दै

नेपाली जीवन बीमा क्षेत्रमा दशकभन्दा लामो अनुभव बोकेका धर्मराज भण्डारी आफूलाई सफल बीमा अभिकर्ताका रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा भित्र्याउने अभियानकर्ताका रूपमा पनि चिनाउन चाहन्छन्। संयुक्त राज्य अमेरिकास्थित मिलियन डलर राउन्ड टेबल (MDRT) का आजीवन सदस्य (Life Member) भण्डारीले ४७ देशमा प्रत्यक्ष रूपमा अध्ययन र अवलोकन गर्दै प्राप्त गरेको बीमा ज्ञानलाई नेपाली बीमा बजारमा प्रयोग गर्ने प्रयास गरिरहेका छन्।

नेपालमा उनी "बीमा सम्राट" का रूपमा समेत परिचित छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै उनले सन् २०२५ मा अमेरिकाको फ्लोरिडा राज्यको मियामी बीचमा आयोजित MDRT Annual Meeting मा नेपालबाट पहिलोपटक वक्ताका रूपमा सम्बोधन गर्ने अवसर प्राप्त गरे। उक्त कार्यक्रममा उनले आफ्नो व्यक्तिगत यात्रा, नेपाली बीमा बजारको अनुभव र अन्तर्राष्ट्रिय अभ्यासबारे प्रस्तुति दिएका थिए। उनका अनुसार विश्वका उत्कृष्ट बीमा व्यवसायीबीच नेपालको प्रतिनिधित्व गर्नु व्यक्तिगत उपलब्धि मात्र नभई देश र राष्ट्रिय जीवन बीमा कम्पनीको सम्मानसँग जोडिएको क्षण थियो।

भण्डारीका अनुसार नेपालको जीवन बीमा बजारको सुदृढीकरणका लागि स्वदेशी कम्पनीहरूको विकास अत्यन्त आवश्यक छ। त्यसैले उनी नेपालीलाई विदेशीभन्दा स्वदेशी जीवन बीमा कम्पनी रोज्न आग्रह गर्छन्। उनका अनुसार स्वदेशी जीवन बीमा कम्पनीले कमाएको नाफा अन्ततः नेपालमै रहने भएकाले त्यसले राष्ट्रिय अर्थतन्त्रलाई प्रत्यक्ष योगदान पुर्‍याउँछ।

उनले विशेष रूपमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै यस कम्पनीले बीमितलाई उच्च बोनस वितरण गरेको दाबी गर्छन्। उनका अनुसार बीमा खरिद गर्दा केवल बीमा शुल्कको आधारमा होइन, बोनस, दीर्घकालीन प्रतिफल र कम्पनीको वित्तीय अवस्थाको तुलनात्मक अध्ययन गरेर निर्णय लिनु उपयुक्त हुन्छ।

एमडीआरटी : प्रतिष्ठा मात्र होइन, व्यावसायिक उत्कृष्टताको मापदण्ड

भण्डारीका अनुसार MDRT जीवन बीमा क्षेत्रमा कार्यरत प्रत्येक व्यवसायीको सपना हो। विश्वव्यापी रूपमा यो सदस्यता उच्च व्यावसायिक उपलब्धि र नैतिक अभ्यासको प्रतीक मानिन्छ। विभिन्न देशमा प्रिमियम संरचना फरक हुने भएकाले विकासोन्मुख राष्ट्रका बीमा व्यवसायीका लागि MDRT को योग्यता हासिल गर्नु अझ चुनौतीपूर्ण हुने उनको भनाइ छ।

उनका अनुसार MDRT सदस्यका रूपमा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा प्राप्त हुने सम्मान, व्यावसायिक पहिचान र विश्वस्तरीय नेटवर्कले हरेक वर्ष अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने गर्दछ। विशेषगरी आजीवन सदस्यहरूलाई प्रदान गरिने सम्मानले यस संस्थाको गरिमा झनै स्पष्ट पार्ने उनी बताउँछन्।

नेपालमा MDRT नामको दुरुपयोग भइरहेको दाबी

भण्डारीले नेपालमा MDRT को नाम र लोगोको दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार केही अभिकर्ताले आधिकारिक रूपमा दर्ता नभई आफ्नो परिचयपत्र, सामाजिक सञ्जाल वा अन्य प्रचार सामग्रीमा MDRT लेख्ने तथा लोगो प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ, जसले अन्तर्राष्ट्रिय संस्थाको प्रतिष्ठामाथि असर पुर्‍याउन सक्छ।

उनको भनाइमा MDRT को सदस्यता प्राप्त गर्नु र त्यसको आधिकारिक दर्ता कायम गर्नु फरक विषय हुन्। त्यसैले सदस्यता नलिई आफूलाई MDRT भनेर प्रचार गर्नु उपयुक्त नहुने उनी बताउँछन्।

उनले बीमा कम्पनीहरूलाई पनि यस विषयमा जिम्मेवार बन्न आग्रह गरेका छन्। उनका अनुसार कम्पनीहरूले आधिकारिक रूपमा दर्ता नभएका व्यक्तिलाई MDRT को नाममा शिल्ड, प्रमाणपत्र, टी–सर्ट वा अन्य सामग्री वितरण गर्नु उचित होइन। यदि सम्मान गर्नै परे पनि MDRT को आधिकारिक नाम प्रयोग नगरी कम्पनीकै आफ्नै सम्मान प्रणाली विकास गर्नुपर्ने उनको सुझाव छ।

अन्तर्राष्ट्रिय अनुभवलाई नेपाली बजारसँग जोड्ने प्रयास

भण्डारीले ४७ देशको अध्ययन भ्रमणका क्रममा बीमा बजार, ग्राहक सेवा, बिक्री प्रणाली, जोखिम व्यवस्थापन र व्यावसायिक नैतिकताका विविध अभ्यास प्रत्यक्ष रूपमा अवलोकन गरेका छन्। ती अनुभवलाई नेपाली बीमा बजारको आवश्यकता अनुसार प्रयोग गर्नुपर्नेमा उनी जोड दिन्छन्।

उनका अनुसार बीमा व्यवसाय केवल पोलिसी बिक्री गर्ने माध्यम नभई दीर्घकालीन आर्थिक सुरक्षा र सामाजिक उत्तरदायित्वसँग जोडिएको क्षेत्र हो। त्यसैले अन्तर्राष्ट्रिय अभ्यासलाई नेपाली सन्दर्भमा अनुकूल बनाउँदै बीमा व्यवसायलाई अझ विश्वसनीय र व्यावसायिक बनाउनु आवश्यक रहेको उनको धारणा छ।

भण्डारीको विश्वास छ, नेपालमा बीमा क्षेत्रको दीर्घकालीन विकासका लागि अन्तर्राष्ट्रिय मान्यता, व्यावसायिक अनुशासन, नैतिक अभ्यास र स्वदेशी संस्थाप्रतिको विश्वास समान रूपमा सुदृढ हुनुपर्छ। त्यही आधारमा नेपाली बीमा उद्योगले अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त पहिचान बनाउन सक्ने उनि बताउछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया