लुम्बिनी विकास बैंकको खुद नाफामा २५३ प्रतिशतको छलाङ, लाभांश क्षमता पनि बलियो
- BFIS News
- 2026 Aug 06 11:25
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा, प्रतिशेयर आम्दानी र लाभांश वितरण क्षमतामा उल्लेख्य सुधार भएको जनाएको छ। विशेषगरी कर्जा असुलीमा सुधार भएसँगै खराब कर्जाका लागि छुट्याइने इम्पेरमेन्ट चार्ज उल्लेख्य घट्दा बैंकको नाफामा ठूलो वृद्धि भएको हो।
सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा ८५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २४ करोड ११ लाख रुपैयाँ रहेको खुद नाफा एक वर्षमै २५२.९६ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै बैंकको सञ्चालन नाफा १०८.५० प्रतिशतले बढेर १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
बैंकको मुख्य आम्दानी स्रोतका रूपमा रहेको खुद ब्याज आम्दानी पनि सकारात्मक देखिएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ७.५३ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
बैंकको नाफा वृद्धिको प्रमुख कारण कर्जा असुलीमा देखिएको सुधार हो। यस अवधिमा इम्पेरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको ७७ करोड ८७ लाख रुपैयाँबाट घटेर १३ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ। खराब कर्जाका लागि छुट्याउनुपर्ने व्यवस्थापन खर्चमा आएको उल्लेख्य कमीले बैंकको अन्तिम नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव परेको देखिन्छ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्ष ६ रुपैयाँ ६५ पैसा रहेको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा बढेर २३ रुपैयाँ ४८ पैसा पुगेको छ।
लाभांश वितरण क्षमताका हिसाबले पनि बैंकको अवस्था बलियो बनेको देखिएको छ। नियामकीय समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा ४३ करोड १२ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षको सञ्चित वितरणयोग्य नाफासमेत समावेश गर्दा कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। यसअनुसार बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ९९ पैसा रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको ५ रुपैयाँ ९ पैसाको तुलनामा उल्लेखनीय सुधार हो।
वित्तीय अवस्थातर्फ हेर्दा गत असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ। सञ्चित नाफा र जगेडा कोषसहित कुल इक्विटी ७ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिको अन्त्यसम्म बैंकले ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। यससँगै बैंकको कुल सम्पत्तिको आकार ६७ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)






.jpg)





प्रतिक्रिया