सरकारले कर पाउने कर्मचारीले बोनस पाउने तर शेयरधनीलाई हाता लाग्यो सुन्य ! पूँजी बजारमा असन्तुष्टि बढ्दो
- BFIS News
- 2026 Aug 06 12:14
काठमाडौं । हरेक कम्पनीले नियम अनुसार घाटामा होस् या नोक्सानमा सरकारलाई कर तिर्नै पर्छ। त्यस्तै नाफा देखिने वित्तीकै कम्पनीले आफ्ना कर्मचारीलाई नियम अनुसार बोनस दिनै पर्छ। तर बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुले पनि विभिन्न नियामकीय व्यवस्थाका कारण शेयरधनीलाई पनि लाभांश दिनबाट लामो समयदेखि रोक लगाउदै आएका छन्। यसले गर्दा पछिल्लो समय शेयरधनीहरुको आक्रोस चुलिदै गइरहेको छ। आजका दिनमा बैंक वित्तीय संस्थाको जगेडा कोष हेर्यो भने चुक्ता पूँजी भन्दा माथि छ तर नियामकीय व्यवस्थाका नाममा शेयरधनीहरुको हात भने वर्षौदेखि खाली छ। यसले गर्दा अर्बौ रुपैयाँ लगानी गरेका शेयरधनीहरु खात खालि राखेको बसेका छन्।
यहि परिस्थतिमा नेपाल इन्भेष्टर फोरमका पुर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका एसोसिएट सदस्य अम्बिका प्रसाद पौडेले यस विषयलाई जोडदार रुपमा उठाउदै किन शेयरधनीको हाल खालि भन्दै सबैलाई प्रश्न गरेका छन्। उनले बैंक तथा वित्तीय संस्थाहरूले नाफा आर्जन गरेपछि सरकारलाई कर तिर्ने र कर्मचारीलाई बोनस वितरण गर्ने तर लगानीकर्ताले अपेक्षित लाभांश नपाउने अवस्थाबारे लगानीकर्ता, व्यवसायी तथा वित्तीय क्षेत्रका सरोकारवालाहरुका विचमा गम्भीर प्रश्न उठाएका छन्। पछिल्ला दिनहरूमा वर्तमान कर प्रणाली, लाभांश वितरण नीति तथा वित्तीय व्यवस्थापनप्रति व्यापक असन्तुष्टि देखिएको छ।
लगानीकर्ता अम्बिका प्रसाद पौडेलले एउटै वासलातका आधारमा सरकारले कर असुल्ने र कर्मचारीले बोनस प्राप्त गर्ने तर लगानीकर्ता भने प्रतिफलविहीन हुने अवस्था दीर्घकालसम्म स्वीकार्य नहुने बताएका छन्। उनले सम्बन्धित नियामक निकायलाई लगानीकर्ताको हित सुनिश्चित हुने व्यवस्था गर्न आग्रह गरेका छन्।
यसै विषयमा प्रतिक्रिया जनाउँदै तिलक कोइरालाले सामाजिक सञ्जालमा गुनासो व्यक्त गर्नुको सट्टा नीति निर्माण तहसँग प्रत्यक्ष संवाद आवश्यक रहेको धारणा राखेका छन्। उनले प्रभावशाली व्यवसायी र लगानीकर्ताले सम्बन्धित निकायसँग औपचारिक रूपमा आफ्नो आवाज उठाउनुपर्ने बताएका छन्।
व्यवसायी ओम शर्मा चापागाईंले पछिल्ला वर्षहरूमा उद्योगी तथा व्यवसायीलाई नकारात्मक रूपमा चित्रण गर्ने प्रवृत्तिले लगानीमैत्री वातावरण कमजोर बनाएको टिप्पणी गरेका छन्। सरकारका उच्च तहबाट आउने अभिव्यक्ति र आर्थिक नीतिबीच समन्वय अभाव देखिएको भन्दै उनले आर्थिक क्षेत्रको दिशाबारे चिन्ता व्यक्त गरेका छन्।
लगानीकर्ता रवि पाण्डेले बैंकले कागजी वा लेखामात्रको नाफामा कर तिर्ने, कर्मचारीले बोनस पाउने तर वास्तविक मालिकका रूपमा रहेका सेयरधनीले लाभांश नपाउने अवस्था अन्यायपूर्ण भएको बताएका छन्। उनका अनुसार कम्पनी नाफामा देखिए पनि लगानीकर्ताले प्रत्यक्ष प्रतिफल नपाउँदा पूँजी बजारप्रतिको विश्वास कमजोर बन्न सक्छ।
यसैबीच, सन्तोष महतले राम्रो वित्तीय सूचक भएका कम्पनीहरूले समेत लाभांश वितरण नगर्दा दीर्घकालीन लगानीकर्ताको विश्वास घट्दै गएको उल्लेख गरेका छन्। उनका अनुसार यदि कुनै कम्पनीले लाभांश वितरण गर्न नसक्ने अवस्था भए त्यसको स्पष्ट र बलियो कारण कम्पनीले सार्वजनिक गर्नुपर्ने तथा आवश्यक परे सरकारले समेत त्यसको निगरानी गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
अर्कोतर्फ, व्यवसायी सुरेश मल्लले बैंकिङ प्रणालीमा ऋण प्रवाह, कार्यशील पूँजी कर्जा व्यवस्था, धितो सम्बन्धी मापदण्ड तथा बजारमा घट्दो मागका कारण व्यवसाय सञ्चालन कठिन बन्दै गएको बताएका छन्। उनले युवा जनशक्ति विदेश पलायन, उपभोगमा आएको कमी तथा ऋणीलाई सहज वातावरण नदिइए भविष्यमा बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्र थप जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।
यस विषयमा फरक धारणा प्रस्तुत गर्दै विनम जंग खड्काले कर्मचारी र लगानीकर्ताको योगदान फरक प्रकृतिको हुने बताएका छन्। उनका अनुसार कर्मचारीले आफ्नो श्रम, सीप र समय लगानी गर्छन् भने लगानीकर्ताले पूँजी तथा जोखिम वहन गर्छन्। त्यसैले कर्मचारीले बोनस पाउनु नै समस्या नभई लगानीकर्ताले उचित प्रतिफल किन नपाए भन्ने विषयमा व्यवस्थापन र नीतिनिर्मातासँग प्रश्न उठाउनुपर्ने उनको तर्क छ।
अर्थतन्त्रका समग्र नीतिमाथि टिप्पणी गर्दै कुमार केसीले करको दायरा विस्तार मात्र गरेर मुलुक समृद्ध नहुने बताएका छन्। उत्पादन, रोजगारी, निर्यात प्रवर्द्धन तथा व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। उनले कर प्रणालीसँगै व्यवसायी र नागरिकलाई राहत तथा प्रोत्साहनका नीति आवश्यक रहेको उल्लेख गरेका छन्।
पूँजी बजारका सरोकारवालाहरूले बैंकको नाफा, लाभांश वितरण नीति, कर संरचना तथा लगानीकर्ता संरक्षणसम्बन्धी व्यवस्थामा पुनरावलोकन आवश्यक रहेको बताएका छन्। यस्तो अवस्था विशेष गरी बैंक वित्तीय संस्थामा देखिन्छ। यस बाहेक जलविद्युत, उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरुले पनि मुनाफाबाट मिलेसम्म लाभांश वितरण गर्ने गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)






.jpg)





प्रतिक्रिया