Nepal Life

नेप्सेको सफ्टवेयरमाथि बढ्दो प्रश्नः प्राविधिक समस्या दोहोरिँदा नयाँ ट्रेडिङ प्रणालीको माग चर्कियो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 06 19:31
नेप्सेको सफ्टवेयरमाथि बढ्दो प्रश्नः प्राविधिक समस्या दोहोरिँदा नयाँ ट्रेडिङ प्रणालीको माग चर्कियो

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन कारोबार प्रणालीमा पटक–पटक देखिँदै आएका प्राविधिक समस्याप्रति लगानीकर्ताको असन्तुष्टि तीव्र बन्दै गएको छ। पछिल्लो समय प्रणालीको स्थायित्व र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेपछि लगानीकर्ताले अहिले प्रयोग भइरहेको सफ्टवेयर प्रतिस्थापन गरी आधुनिक प्रविधिमा आधारित नयाँ प्रणाली लागू गर्नुपर्ने माग गरेका छन्।

Nepal Life
NIMB

गत साउन ८ गते कारोबार समाप्त भएपछि नेप्से सूचक एकाएक एक हजार अंकभन्दा बढीले घटेको देखिएको घटनाले पनि प्रणालीको विश्वसनीयतामाथि थप प्रश्न उठाएको छ। यद्यपि नेप्सेले उक्त प्राविधिक देखावटले वास्तविक कारोबार वा बजार परिणाममा कुनै असर नपारेको जनाएको थियो। तर लगानीकर्ताले यस्तो घटना नै वर्तमान सफ्टवेयर पुरानो भइसकेको संकेत भएको भन्दै आलोचना गरेका छन्।

आठ वर्ष पुरानो प्रणालीमाथि पुनः बहस

नेपाल स्टक एक्सचेन्जले वि.सं. २०७५ कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली (NOTS र TMS) सञ्चालनमा ल्याएको थियो। नेपालमा करिब चार दशकसम्म परम्परागत शैलीमा सञ्चालन हुँदै आएको सेयर कारोबार त्यसपछि डिजिटल माध्यममा रूपान्तरण भएको थियो।

प्रणाली सञ्चालनको सुरुआती चरणमा नै विभिन्न प्राविधिक समस्या देखिएका थिए। कतिपय दिन कारोबार नै अवरुद्ध भएको थियो भने केही दिन कारोबार समयसमेत थप्नुपरेको थियो। समयसँगै प्रणाली स्थिर भए पनि पछिल्ला वर्षहरूमा फेरि विभिन्न समयमा कारोबारमा अवरोध, लगइन समस्या तथा अर्डर व्यवस्थापनसम्बन्धी गुनासो दोहोरिन थालेका छन्।

विशेषगरी ब्रोकरहरूको ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS) मा देखिने समस्याले पनि नेप्सेको समग्र अनलाइन कारोबार प्रणालीमाथि प्रश्न उठ्ने गरेको छ। यद्यपि कतिपय समस्या ब्रोकरको प्रणालीसँग सम्बन्धित भए पनि त्यसको प्रत्यक्ष असर लगानीकर्ताले भोग्नुपरेको छ।

नेप्सेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (NOTS र TMS) भारतीय कम्पनी YCO Pvt. Ltd. (वाइको प्राइभेट लिमिटेड) ले निर्माण गरेको हो। नेप्सेले २०७३ माघमा उक्त कम्पनीसँग सम्झौता गरी प्रणाली विकास गराएको थियो भने नोभेम्बर २०१८ देखि प्रणाली औपचारिक रूपमा सञ्चालनमा आएको हो।

हालसम्म पनि प्रणालीको मर्मत, अद्यावधिक तथा प्राविधिक सहयोगको काम वाइकोले नै गर्दै आएको छ। त्यसबापत नेप्सेले वार्षिक रूपमा करोडौँ रुपैयाँ सेवा शुल्क भुक्तानी गर्दै आएको स्रोतहरू बताउँछन्। नेप्से र वाइकोबीच हरेक वर्ष कात्तिक महिनामा मर्मतसम्बन्धी सम्झौता नवीकरण हुँदै आएको छ।

यसअघि वाइकोले मर्मतसम्भारको जिम्मेवारी अर्को कम्पनीलाई हस्तान्तरण गर्न खोज्दा नेप्सेले त्यसलाई अस्वीकार गरेको घटना पनि सार्वजनिक भएको थियो।

सामाजिक सञ्जालमा आक्रोश

पछिल्लो प्राविधिक घटनापछि सामाजिक सञ्जालमा लगानीकर्ताले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले बजार सञ्चालन गर्ने प्रणालीमा बारम्बार समस्या दोहोरिँदा नियामक निकाय र सम्बन्धित संस्थाहरूले पर्याप्त चासो नदिएको आरोप लगाएका छन्।

कतिपय लगानीकर्ताले धितोपत्र बोर्डले घटनाको छानबिन गरी जिम्मेवार पक्षमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्। केहीले आफूहरूले छोटो समयमै ठूलो वित्तीय जोखिम बेहोर्नुपरेको भन्दै त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने धारणा व्यक्त गरेका छन्। अर्काथरीले वर्तमान प्रणाली हटाएर अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र भरपर्दो सफ्टवेयर ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।

"सामान्य सुधारले पुग्दैन, नयाँ प्रणाली आवश्यक"

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल का अनुसार, अहिलेको बहस कुनै एक कम्पनीले प्रणाली सञ्चालन गर्ने वा नगर्ने विषयमा केन्द्रित नभई प्रणालीको गुणस्तर, सुरक्षा र विश्वसनीयतामा केन्द्रित हुनुपर्छ।

उनले विगतमा पनि ट्रेडिङ प्रणालीमा पटक पटक प्राविधिक कमजोरी देखिएको स्मरण गराउँदै लगानीकर्ताको विश्वास कायम राख्न समयानुकूल सुधार वा आवश्यक परे पूर्ण प्रतिस्थापन अपरिहार्य भएको बताए।

ढकालका अनुसार पूँजी बजारको सबैभन्दा ठूलो आधार नै लगानीकर्ताको विश्वास भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुरक्षित, पारदर्शी र उच्च क्षमतायुक्त ट्रेडिङ प्रणाली विकास गर्नु अहिलेको आवश्यकता हो।

उनको भनाइमा अहिले प्रयोग भइरहेको सफ्टवेयर दैनिक दुई–तीन करोड रुपैयाँ हाराहारीको कारोबार हुने समयको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको थियो। तर अहिले बजारको आकार उल्लेखनीय रूपमा विस्तार भइसकेको छ र भविष्यमा दैनिक कारोबार अर्बौँ रुपैयाँ पुग्ने लक्ष्य राखिएको अवस्थामा यही प्रणालीले बढ्दो भार धान्न कठिन हुने देखिन्छ।

उनले दीर्घकालीन समाधानका लागि सामान्य मर्मत वा साना सुधारभन्दा पनि नयाँ प्रविधिमा आधारित आधुनिक ट्रेडिङ प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

सुधारको दबाब बढ्दै

नेप्सेमा सूचीकृत कम्पनी, लगानीकर्ता, ब्रोकर र नियामक निकायबीच पूँजी बजारलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउने विषयमा लामो समयदेखि छलफल हुँदै आएको छ। पछिल्ला प्राविधिक घटनाहरूले भने त्यो बहसलाई थप तीव्र बनाएको छ।

पूँजी बजारका सरोकारवालाहरूको भनाइमा कारोबारको आकार, लगानीकर्ताको संख्या र प्रविधिको विकाससँगै नेप्सेको ट्रेडिङ प्रणाली पनि समयानुकूल रूपान्तरण हुन आवश्यक छ। अन्यथा बारम्बार दोहोरिने प्राविधिक समस्याले बजारप्रतिको विश्वास कमजोर बनाउने र दीर्घकालीन रूपमा पूँजी बजारको विकासमै असर पर्ने जोखिम रहने उनीहरूको चेतावनी छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया