Nepal Life

ट्रक व्यवसायी महासंघद्वारा ओभरलोड जरिवानाको व्यवस्था संशोधन गर्न माग

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 07 16:57
ट्रक व्यवसायी महासंघद्वारा ओभरलोड जरिवानाको व्यवस्था संशोधन गर्न माग

काठमाडौं, साउन २२ नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा दर्ता भएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का जरिवानासम्बन्धी व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै त्यसलाई संशोधन गर्न सरकारसँग माग गरेको छ।

 

Nepal Life
NIMB

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सार्वजनिक सडकमा सुशासन कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा अधिक भार (ओभरलोड) नियन्त्रण गर्ने उद्देश्यले ल्याइएका व्यवस्थाप्रति महासंघ सकारात्मक रहेको बताए।

उनका अनुसार विधेयकमा प्रस्तावित वजनको सीमा निर्धारण, तौल पुलमार्फत अनिवार्य वजन परीक्षण तथा सडक संरचनाको संरक्षणसम्बन्धी व्यवस्था आवश्यक र स्वागतयोग्य छन्।

तर, यस्ता धेरै व्यवस्था यसअघि नै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५६ मा समावेश रहेको उल्लेख गर्दै उनले ती कानुन पनि संशोधन प्रक्रियामा रहेकाले एउटै विषय दोहोरिने अवस्था आउन सक्ने बताए।

बानियाँले कानुन निर्माणसँगै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै पर्याप्त कानुनी व्यवस्था हुँदाहुँदै पनि नियमनकारी निकायको उदासीनता, बजेट तथा जनशक्तिको अभावका कारण प्रभावकारी अनुगमन हुन नसकेको बताए। उनका अनुसार यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले ओभरलोड ढुवानीबाट लाभ लिइरहेका छन्।

विधेयकको दफा १३ अनुसार तोकिएको सीमाभन्दा बढी भार बोकेको मालवाहक सवारीसाधनलाई तौल पुलमा परीक्षण गरी बढी भार तत्काल अनलोड गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, सो व्यवस्था उल्लंघन गरेमा सवारीधनीलाई प्रतिपटक पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रस्ताव गरिएको छ।

महासंघले विशेषगरी यही जरिवाना व्यवस्थाप्रति असहमति जनाएको छ। अध्यक्ष बानियाँले एकैपटक पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था यातायात व्यवसायीका लागि अत्यधिक आर्थिक भार हुने भएकाले यसलाई व्यवहारिक र सन्तुलित बनाउन सरकारसँग आग्रह गरेका छन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया