नेपाल माइक्रो इन्स्योरेन्समा उच्च व्यवस्थापन तहमा रोजगारीको अवसर
- BFIS News
- 2026 Aug 10 10:54
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले उच्च व्यवस्थापन तथा मार्केटिङतर्फ विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले प्रमुख मार्केटिङ अधिकृत (सीएमओ) र प्रमुख वित्त अधिकृत (सीएफओ) सहित प्रदेशस्तरीय मार्केटिङ प्रमुख, मार्केटिङ कर्मचारी तथा आईटी विभागका लागि सहायक पदमा आवेदन खुला गरेको हो।
नेपालको पहिलो निर्जीवन माइक्रोइन्स्योरेन्स कम्पनीका रूपमा सञ्चालनमा रहेको कम्पनीले व्यवसाय विस्तारसँगै संस्थागत तथा सञ्चालन क्षमता बढाउने उद्देश्यले जनशक्ति थप गर्न लागेको जनाएको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १९ करोड ४० लाख रुपैयाँको कुल आर्जित बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्षमा यस्तो बीमाशुल्क ३ करोड ५० लाख रुपैयाँ रहेको थियो। व्यवसायको आकार उल्लेख्य रूपमा बढे पनि नयाँ बीमा कम्पनीका लागि प्रारम्भिक चरणमा देखिने उच्च प्रशासनिक खर्चका कारण कम्पनीको नाफा सीमित रहेको छ। उक्त आर्थिक वर्षमा कम्पनीले करिब ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
मार्केटिङ नेतृत्वमा जोड
कम्पनीले प्रमुख मार्केटिङ अधिकृतका लागि बीमा वा वित्तीय क्षेत्रमा अनुभव भएको उम्मेदवार खोजेको छ। सीएमओले हिमालदेखि तराईसम्मको बजार विस्तार रणनीति कार्यान्वयन गर्दै कम्पनीका सातै प्रदेशमा रहेका मार्केटिङ टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाउनेछ।
त्यस्तै, प्रमुख वित्त अधिकृतले कम्पनीको बढ्दो व्यवसायअनुसार वित्तीय योजना, वित्तीय व्यवस्थापन तथा नियामकीय अनुपालनको जिम्मेवारी सम्हाल्नेछ। नेपाल बीमा प्राधिकरणले तोकेका वित्तीय तथा नियामकीय मापदण्डको पालना सुनिश्चित गर्नु पनि सीएफओको प्रमुख जिम्मेवारी हुनेछ।
नेपालमा माइक्रो निर्जीवन बीमा व्यवसाय पछिल्लो समय तीव्र गतिमा विस्तार भइरहेको छ। साना किसान, ग्रामीण उद्यमी तथा न्यून आय भएका परिवारलाई लक्षित बीमा उत्पादनको माग बढ्दै गएसँगै माइक्रोइन्स्योरेन्स कम्पनीहरूका लागि बजार विस्तारको सम्भावना पनि बढेको छ। यही सम्भावनालाई लक्षित गर्दै नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बजार तथा संस्थागत संरचना विस्तारमा जोड दिएको हो।
१५ दिनभित्र आवेदन दिनुपर्ने
कम्पनीका अनुसार इच्छुक नेपाली नागरिकले आफ्नो बायोडाटा (सीभी), कभर लेटर, हालसालै खिचेको फोटो तथा आवश्यक प्रमाणपत्रसहितको कागजात पेश गर्नुपर्नेछ।
आवेदन कम्पनीको इमेल [email protected] मा विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र पठाउनुपर्नेछ। कार्यस्थल काठमाडौंसहित विभिन्न प्रदेश कार्यालय तोकिएको छ।
कम्पनीले प्राप्त आवेदनमध्ये छनोटमा परेका उम्मेदवारलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गर्ने जनाएको छ। साथै, कुनै कारण नखुलाई कुनै वा सबै आवेदन स्वीकार वा अस्वीकार गर्ने अधिकार कम्पनीमा सुरक्षित रहने उल्लेख गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया