Nepal Life

२० बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेको छलफल, लगानी विस्तार र व्यवसायिक समस्या प्राथमिकतामा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 10 12:20
२० बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेको छलफल, लगानी विस्तार र व्यवसायिक समस्या प्राथमिकतामा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग आज छलफल गर्दैछन्।

Nepal Life
NIMB

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि सुझाव संकलन तथा लगानीसम्बन्धी समस्या पहिचान गर्ने उद्देश्यले अर्थ मन्त्रालयले आयोजना गरेको छलफलमा बहुराष्ट्रिय कम्पनीका स्वदेशी तथा विदेशी साझेदार सहभागी हुनेछन्।

अर्थ मन्त्रालयको सुवर्ण हलमा दिउँसो १२ बजे हुने छलफलमा कम्पनीहरूले नेपालमा व्यवसाय सञ्चालन गर्दा भोगिरहेका समस्या, बजेटमा समेटिएका सुविधाको कार्यान्वयन अवस्था र थप लगानीका सम्भावनाबारे छलफल हुने जनाइएको छ।

विशेषगरी रोजगारी सिर्जना, लगानी विस्तार तथा नेपालमा आर्जित प्रतिफल फिर्ता लैजाने प्रक्रियामा देखिएका नीतिगत र व्यावहारिक कठिनाइबारे कम्पनीका प्रतिनिधिबाट जानकारी लिने तयारी छ। अर्थमन्त्री वाग्लेले व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या र सरकारबाट अपेक्षित सहजीकरणका विषय लिखित रूपमा उपलब्ध गराउनसमेत प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

बजेट कार्यान्वयनको तयारीसँगै अर्थ मन्त्रालयले निजी क्षेत्र तथा वित्तीय क्षेत्रका सरोकारवालासँग छलफललाई निरन्तरता दिएको छ। यसअघि अर्थमन्त्री वाग्लेले नेपालका ३३ ठूला औद्योगिक घरानाका प्रतिनिधि, ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन्।

नेपालमा सञ्चालनमा रहेका बहुराष्ट्रिय कम्पनीहरूले सरकारलाई उल्लेख्य राजस्व योगदान गर्दै आएका छन्। उनीहरूले सामना गरिरहेका समस्या पहिचान गरी समाधानका उपाय खोज्नुका साथै थप लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने उद्देश्यले छलफल आयोजना गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया