एलपी ग्यासको माग फेरि बढ्यो, साउनमै ४२ हजार ५०० मेट्रिक टन आयात
- BFIS News
- 2026 Aug 10 12:37
काठमाडौं । गत आर्थिक वर्षमा एलपी ग्यासको बिक्री करिब ६ प्रतिशतले घटेको भए पनि चालु आर्थिक वर्षको सुरुवातसँगै यसको माग पुनः बढेको छ।
नेपाल आयल निगमका अनुसार साउन १ देखि २४ गतेसम्म मात्रै ४२ हजार ५०० मेट्रिक टन एलपी ग्यास आयात भइसकेको छ, जुन मुलुकको औसत मासिक खपतको हाराहारी हो।
निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा मुलुकमा ५ लाख २१ हजार ५२९ मेट्रिक टन एलपी ग्यास बिक्री भएको थियो। अघिल्लो आर्थिक वर्षमा ५ लाख ५५ हजार १११ मेट्रिक टन बिक्री भएकोमा एक वर्षमा बिक्री ३३ हजार ५८२ मेट्रिक टनले घटेको हो। प्रतिशतका आधारमा यो करिब ६ प्रतिशतको कमी हो।
मासिक बिक्रीमा भने उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास बिक्री भएकोमा भदौमा ४७ हजार ६५४ मेट्रिक टन पुगेको थियो। असोजमा ४७ हजार ४७०, कात्तिकमा ४२ हजार ६८१, मंसिरमा ४५ हजार २२८ र पुसमा ४७ हजार ४६० मेट्रिक टन बिक्री भएको निगमको विवरणमा उल्लेख छ।
माघमा बिक्री ४६ हजार २८४ मेट्रिक टन रहेकोमा फागुनमा बढेर ५१ हजार १९२ मेट्रिक टन पुगेको थियो। यो गत आर्थिक वर्षकै सबैभन्दा बढी मासिक बिक्री हो। त्यसपछि ७.१ किलो क्षमताको आधा सिलिन्डर प्रयोगमा आएपछि बिक्री घटेको देखिन्छ।
चैतमा बिक्री ३८ हजार ८०० मेट्रिक टनमा झरेको थियो। वैशाखमा ३२ हजार ५६ मेट्रिक टन र जेठमा ३३ हजार ८४२ मेट्रिक टनमा सीमित भएको बिक्री असारमा भने बढेर ४४ हजार ५४४ मेट्रिक टन पुगेको थियो।
आधा सिलिन्डरको प्रयोगपछि बदलियो मागको ढाँचा
निगमका अधिकारीहरूका अनुसार फागुनमा ठूलो परिमाणमा ग्यास आयात भएपछि केही उपभोक्ताले अतिरिक्त सिलिन्डर सञ्चित गरेका थिए। त्यसपछि ७.१ किलो क्षमताको आधा सिलिन्डर वितरण सुरु भएपछि बजारमा तत्काल ग्यासको माग कम देखिएको थियो।
उपभोक्तासँग पहिले नै सञ्चित ग्यास रहेकाले त्यस अवधिमा बजारमा मागको दबाब कम भएको निगमको विश्लेषण छ। तर सञ्चित ग्यास सकिँदै गएपछि र उपभोक्ता पुनः १४.२ किलो क्षमताको पूर्ण सिलिन्डरतर्फ फर्किएपछि माग बढेको निगमका अधिकारीहरूको भनाइ छ।
आधा सिलिन्डरका कारण कारोबार संख्यामा वृद्धि
७.१ किलो क्षमताको सिलिन्डरलाई समेत गणनामा समावेश गरिएपछि चैतयता कारोबार भएका सिलिन्डरको संख्या अघिल्ला महिनाको तुलनामा उल्लेख्य बढेको देखिन्छ।
निगमका अनुसार चैतमा ५४ लाख ६४ हजार ७८९, वैशाखमा ४५ लाख १४ हजार, जेठमा ४७ लाख ६६ हजार ४७९ र असारमा ६२ लाख ७३ हजार ८०३ सिलिन्डरको कारोबार भएको थियो।
२४ दिनमै औसत मासिक खपत बराबर आयात
चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती २४ दिनमै भएको ४२ हजार ५०० मेट्रिक टन आयातले बजारमा ग्यासको माग बढेको संकेत गरेको छ। नेपालमा सामान्य अवस्थामा मासिक एलपी ग्यासको माग ४५ हजारदेखि ४६ हजार मेट्रिक टनको हाराहारीमा रहने निगमले जनाएको छ।
बजारमा ग्यास अभावको चर्चा बढिरहेका बेला निगमले भने आयात तथा आपूर्तिमा उल्लेख्य कमी नरहेको बताउँदै आएको छ। नियमित मागअनुसार आयात भइरहेको र अनावश्यक रूपमा ग्यास अभावको त्रास सिर्जना गर्न आवश्यक नरहेको निगमको भनाइ छ।
भारतसँग आपूर्ति बढाउन प्रस्ताव
माग बढेपछि नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)सँग एलपी ग्यासको आपूर्ति बढाउन आग्रह गरेको छ। हाल मासिक ४६ देखि ४७ हजार मेट्रिक टन हाराहारीमा रहेको आपूर्ति बढाएर ६० हजार मेट्रिक टन पुर्याउन निगमले प्रस्ताव गरेको हो।
निगम स्रोतका अनुसार भारतीय पक्षले तत्कालका लागि मासिक ५५ हजार मेट्रिक टनसम्म ग्यास उपलब्ध गराउन सकिने जानकारी दिएको छ। तर आपूर्ति बढाउने प्रक्रिया तत्कालै पूरा नहुने भएकाले मागअनुसार आपूर्ति विस्तार चरणबद्ध रूपमा हुने निगमका अधिकारीहरूको भनाइ छ।
आवश्यकता अनुसार मात्रै खरिद गर्न आग्रह
निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी एलपी ग्यास खरिद गरेर सञ्चित नगर्न आग्रह गरेको छ। आपूर्तिमा तत्काल समस्या नरहे पनि हल्लाका आधारमा हुने अतिरिक्त खरिदले बजारमा कृत्रिम अभावको अवस्था सिर्जना गर्न सक्ने निगमको भनाइ छ।
नियमित आपूर्ति कायम रहेको जनाउँदै निगमले उपभोक्तालाई आवश्यक परिमाणमा मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया