Nepal Life

बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्रीको छलफल, लगानी विस्तार र सहजीकरणमा केन्द्रित

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 10 13:04
बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्रीको छलफल, लगानी विस्तार र सहजीकरणमा केन्द्रित

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा उच्चपदस्थ प्रतिनिधिसँग आज छलफल गर्दैछन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन भइरहेको छलफल शृङ्खलाअन्तर्गत २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीसँग छलफल हुन लागेको हो।

Nepal Life
NIMB

अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे सुरु हुने छलफलमा सम्बन्धित कम्पनीका विदेशी तथा स्वदेशी साझेदार र उच्चपदस्थ अधिकारीलाई आमन्त्रण गरिएको छ। छलफलमा बहुराष्ट्रिय कम्पनीले नेपालमा गरिरहेको लगानी, रोजगारी सिर्जना, व्यवसाय विस्तार तथा सरकारले उपलब्ध गराएका सुविधाका विषयमा केन्द्रित भएर छलफल हुने जनाइएको छ।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत बहुराष्ट्रिय कम्पनीलाई उपलब्ध गराइएका सुविधा, व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तथा लगानी विस्तारका सम्भावनाबारे कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्ने कार्यक्रम छ। नेपालमा थप लगानी आकर्षित गर्न, रोजगारी सिर्जना बढाउन तथा लगानीबाट प्राप्त प्रतिफल फिर्ता लैजाने प्रक्रियामा आवश्यक सरकारी सहजीकरणका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ।

कम्पनीका प्रतिनिधिलाई आफ्ना समस्या, सुझाव तथा अपेक्षा खुलस्त रूपमा राख्न आग्रह गरिएको छ। उनीहरूबाट सम्बन्धित विषयमा लिखित विवरणसमेत पेश गर्न आग्रह गरिने कार्यक्रम छ। यसबाट निजी क्षेत्र र सरकारबीच लगानीसम्बन्धी समस्या पहिचान गरी बजेट कार्यान्वयनका क्रममा आवश्यक नीतिगत तथा प्रशासनिक सुधार अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो संख्यामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याएका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन्।

यस्तै, अर्थमन्त्रीले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग समेत बजेट कार्यान्वयन र वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरिसकेका छन्। पछिल्लो छलफललाई पनि बजेट कार्यान्वयनमा निजी क्षेत्रका समस्या पहिचान र लगानीको वातावरण सुधार गर्ने सरकारको प्रयासका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया