Nepal Life

२० ठूला कम्पनीसँग अर्थमन्त्री वाग्ले : ‘नेपालमा थप लगानी र उद्योग विस्तार गर्नुहोस्’

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 10 14:21
२० ठूला कम्पनीसँग अर्थमन्त्री वाग्ले : ‘नेपालमा थप लगानी र उद्योग विस्तार गर्नुहोस्’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग आर्थिक तथा व्यावसायिक वातावरणका विषयमा छलफल गरेका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले छलफल आयोजना गरिएको हो।

Nepal Life
NIMB

छलफलमा अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्र निर्माणमा ठूला करदाता, रोजगारदाता तथा लगानीकर्ताले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए। उनले सहभागी कम्पनीका प्रतिनिधिलाई व्यवसायी वा कम्पनीका प्रतिनिधिका रूपमा मात्र नभई राष्ट्र निर्माणका अग्रणी साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखे।

अर्थमन्त्री वाग्लेले सरकार र निजी क्षेत्रबीच नयाँ तथा गहिरो विश्वास, सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताए। पछिल्ला दिनमा उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग भएका छलफलबाट नेपालको आर्थिक रूपान्तरण सरकार वा कुनै एक संस्थाको प्रयासबाट मात्र सम्भव नहुने निष्कर्ष आएको उनले बताए।

त्यसैले ठूला लगानीकर्ता तथा उद्यमीका अनुभव र समस्या सुन्ने उद्देश्यले छलफल गरिएको उनले बताए। सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने नीति अघि बढाइएको उनको भनाइ थियो।

उनले सरकारको प्राथमिकता कर संकलन बढाउनमा मात्र सीमित नरहेको बताए। उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने सरकारको उद्देश्य रहेको उनले बताए।

उद्योगले नाफा कमाएपछि पुनःलगानी बढ्ने, त्यसबाट उत्पादन तथा रोजगारी विस्तार हुने र आम्दानी बढेसँगै बजार तथा राज्यको राजस्वसमेत विस्तार हुने भएकाले सरकार र निजी क्षेत्रको सफलता एकअर्कासँग जोडिएको उनले उल्लेख गरे। निजी क्षेत्र र सरकारबीचको सम्बन्ध शून्य–योगको नभई परस्पर लाभमा आधारित हुनुपर्नेमा उनले जोड दिए।

लगानी सुरक्षाको प्रतिबद्धता

अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताए। लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमेय रहेको र राज्य साझेदारका रूपमा उभिएको विश्वास गर्नुपर्ने उनको भनाइ थियो।

ठूलो लगानी आकर्षित गर्न, उद्योग विस्तार गर्न र आर्थिक रूपान्तरण अघि बढाउन लगानीकर्ताको विश्वास अपरिहार्य रहेको उनले बताए।

उनले ठूला कम्पनीलाई नेपालमा थप लगानी गर्न, विद्यमान उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न, प्रविधि भित्र्याउन तथा रोजगारी सिर्जना गर्न आग्रह गरे। सरकार निजी क्षेत्रको साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

व्यवसाय विस्तारका अवरोध पहिचान गर्ने प्रयास

छलफलमा सरकारले हालसम्म सुरु गरेका सुधारहरू व्यवहारमा कत्तिको प्रभावकारी भएका छन् भन्ने विषयमा निजी क्षेत्रको धारणा लिइने भएको छ। त्यस्तै, व्यवसाय विस्तारका क्रममा देखिएका प्रमुख अवरोध पहिचान गरी तत्काल सुधार गर्नुपर्ने क्षेत्रबारे सुझाव मागिएको छ।

कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियालगायतका क्षेत्रमा रहेका समस्याबारे कम्पनी प्रतिनिधिबाट स्पष्ट धारणा लिने उद्देश्य राखिएको छ।

सरकारले आगामी छ महिनाभित्र गर्नुपर्ने महत्वपूर्ण निर्णय तथा सुधारका प्राथमिकतासमेत निजी क्षेत्रसँग छलफलबाट तय गर्ने तयारी गरेको छ।

अर्थमन्त्री वाग्लेले छलफललाई सुझाव संकलनमा मात्र सीमित नगरी समाधानको कार्यसूची निर्माण गर्ने उद्देश्य रहेको बताए। बैठकमा उठेका विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने र अर्थ मन्त्रालयले ‘रिस्पोन्स डेस्क’मार्फत निरन्तर अनुगमन गर्ने व्यवस्था गरिने उनले बताए। यो संवाद एकपटकको कार्यक्रम नभई समस्या समाधान नभएसम्म निरन्तर अघि बढाइने उनले बताए।

करदातालाई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने नीति

अर्थमन्त्री वाग्लेले सरकारले करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने नीति लिएको बताए। इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउने विषयमा सरकारले काम गरिरहेको उनले उल्लेख गरे।

उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यमतर्फ आकर्षित गर्ने वातावरण निर्माण गर्न सरकार केन्द्रित रहेको उनको भनाइ थियो।

नेपाललाई लगानीमैत्री, व्यवसायमैत्री र उत्पादनमुखी अर्थतन्त्रका रूपमा अघि बढाउन सरकार र निजी क्षेत्रबीचको साझेदारी थप सुदृढ गर्नुपर्नेमा उनले जोड दिए। आगामी दशकलाई ठूलो लगानी, उत्पादन, रोजगारी र आर्थिक आत्मविश्वासको दशक बनाउने लक्ष्यसहित सरकार अघि बढेको उनले बताए।

छलफलमा सहभागी २० ठूला करदाता कम्पनी

छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राईप्स, गोर्खा ब्रुअरी, हिमालय एअरलाइन्स्, होङ्शी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी कम्पनी, डाबर नेपाल, वोटलर्स नेपाल (तराई), यूनिलिभर नेपाल, एशियन पेन्टस (नेपाल), पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट नारायणी, न्यू होप एग्रो बिजनेश नेपाल, नेपाल वेलहोप एग्रि–टेक, वरुण बेभरेज नेपाल, टर्किस एयरलाइन्स इन्कर्पोरेशन, भोटेकोशी पावर कम्पनी र बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल)का प्रतिनिधि सहभागी थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया