मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग
- BFIS News
- 2026 Aug 28 14:01
काठमाडौं । मुक्तिनाथ विकास बैंकले रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
२०८३ भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको बैंकले जनाएको छ। बाढीले नदी तटीय क्षेत्रमा प्रत्यक्ष क्षति पुर्याउनुका साथै ती क्षेत्रमा विभिन्न उद्देश्यले रहेका स्वदेश तथा विदेशका नागरिकसमेत प्रभावित भएका छन्।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।
प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठूलो संख्यामा नागरिक प्रभावित भएको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग गर्नु संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको दायित्व भएको बैंकले जनाएको छ।
बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उपलब्ध गराइएको सहयोगले राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया