भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि राष्ट्रिय वाणिज्य बैंकको ३ करोड सहयोग
- BFIS News
- 2026 Aug 28 14:54
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।
बिहीबार राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड रुपैयाँको सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत कर्मचारीको उपस्थिति थियो।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीसँगै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण कतिपय नागरिक बेपत्ता भएका छन् भने प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता अझै कायम छ।
बाढी प्रभावित परिवारलाई राहत सामग्री, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग गरेको हो। विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटिरहेका बेला राष्ट्रिय वाणिज्य बैंकको यो सहयोग थपिएको हो।
यसैबीच, राष्ट्रिय वाणिज्य बैंक परिवारले बाढी तथा अन्य विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। बैंकले बेपत्ता तथा घाइतेको शीघ्र उद्धार र उपचारको कामना गर्दै विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया