भोटेकोशी बाढी प्रभावित तीन शाखाका ग्राहकलाई एनआईसी एशियाको सेवा शुल्कमा शतप्रतिशत छुट
- BFIS News
- 2026 Sep 03 16:37
काठमाडौं, १८ भदौ । एनआईसी एशिया बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका ग्राहकलाई सेवा शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।
बाढीका कारण उत्पन्न असहज परिस्थिति र प्रभावित क्षेत्रमा परेको कठिनाइलाई मध्यनजर गर्दै बैंकले स्याफ्रुबेंसी, बेत्रावती र त्रिशुली शाखाका खातावालालाई यस्तो सुविधा उपलब्ध गराउने भएको हो । बैंकका अनुसार उक्त छुट २०८३ सालको पौष मसान्तसम्म लागू हुनेछ ।
बैंकले डिजिटल बैंकिङअन्तर्गत डेबिट कार्ड जारी तथा नवीकरण शुल्क, पिन रिसेट शुल्क, कार्ड अनब्लक गर्दा लाग्ने शुल्क र हराएको वा बिग्रिएको डेबिट कार्ड पुनः जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट दिने जनाएको छ ।
त्यस्तै, मोबाइल तथा इन्टरनेट बैंकिङ दर्ता तथा नवीकरण शुल्क र पासवर्ड रिसेट शुल्कमा समेत ग्राहकले छुट पाउनेछन् । मुद्दती तथा रिकरिङ खातातर्फ समयअगावै खाता बन्द (एफडी वा आरडी लिक्विडेसन) गर्दा लाग्ने शुल्क तथा मुद्दती रसीदको दोस्रो प्रति जारी गर्दा लाग्ने शुल्कमा पनि छुट दिइने बैंकले जनाएको छ ।
यसैगरी, हराएको चेकको सट्टा नयाँ चेक जारी गर्दा लाग्ने शुल्क र रिक्विजिसन स्लिपबिना चेकबुक अनुरोध गर्दा लाग्ने शुल्कमा पनि छुटको व्यवस्था गरिएको छ । ग्राहकको अनुरोधमा डेबिट/क्रेडिट एडभाइसको दोस्रो प्रति जारी गर्दा लाग्ने शुल्क, विभिन्न सिफारिस तथा पत्र जारी गर्दा लाग्ने शुल्क र खाताको स्किम परिवर्तन गर्दा लाग्ने शुल्कसमेत छुट हुने बैंकले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रका ग्राहकलाई आर्थिक तथा बैंकिङ सेवामा सहजता प्रदान गर्ने उद्देश्यले सेवा शुल्कमा छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया