हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३३ लाख ५३ हजार सहयोग
- BFIS News
- 2026 Sep 04 11:55
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीका अनुसार कुल सहयोगमध्ये रु. २५ लाख कम्पनीको तर्फबाट र रु. ८ लाख ५३ हजार १८ कर्मचारीहरूको एक दिनको तलबबाट संकलन गरिएको हो। कर्मचारीहरूको स्वेच्छिक योगदानलाई समेत समेटेर कम्पनीले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरेको जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी र डुबानका कारण नागरिकको मृत्यु हुनुका साथै कैयौँ बेपत्ता भएका छन् भने बस्ती तथा पूर्वाधारमा क्षति पुगेपछि सयौँ परिवार विस्थापित भएका छन्।
विपद्बाट प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारले अघि बढाएको अभियानमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको कम्पनीले जनाएको छ। विपद्को समयमा सरकार, सुरक्षा निकाय तथा स्थानीय संघसंस्थाबाट भइरहेको उद्धार तथा राहत प्रयासप्रति कम्पनीले ऐक्यबद्धता जनाएको छ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी, घाइतेको स्वास्थ्य लाभ तथा उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया