प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब मौज्दात
- BFIS News
- 2026 Sep 08 21:52
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ २३ गते २०८३ (८ सेप्टेम्बर) साँझ ५ बजेसम्म कोषका ९ वटा रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख तथा २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ।
अमेरिकी डलरलाई प्रतिडलर रु. १५०.८८ का दरले नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको मन्त्रालयले जनाएको छ।
रसुवा–भोटेकोशी बाढीपछि कोषमा रु. ७ अर्ब ६८ करोड ४४ लाख तथा २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर संकलन भएको छ। उक्त रकम विपद्अघि कोषमा रहेको रु. २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको हो।
भदौ २३ गते मात्रै कोषमा रु. ३० करोड ६२ लाख र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको मन्त्रालयले जनाएको छ। बाढी तथा विपद्बाट प्रभावितको राहत र उद्धारका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई कोषबाट रु. १ अर्ब हस्तान्तरण गरिएको थियो।
मन्त्रालयले विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया