भोटेकोशी बाढीमा १,८०० भन्दा बढी उद्योग व्यवसाय प्रभावित, ऋण पुनर्संरचना र बीमा दाबी भुक्तानीको माग
- BFIS News
- 2026 Sep 09 13:12
काठमाडौं। भोटेकोशी–त्रिशूली करिडोरमा भदौ १० गते आएको विनाशकारी बाढीले नुवाकोटका उद्योग, व्यापार तथा व्यावसायिक क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण नुवाकोटमा मात्रै साना तथा ठूला गरी करिब १ हजार ८ सयभन्दा बढी उद्योग तथा व्यवसाय पूर्णरूपमा क्षतिग्रस्त भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ।
बाढीबाट प्रभावित व्यवसायीहरूले तत्काल राहतसँगै व्यवसाय पुनः सञ्चालनका लागि पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसँगको छलफलका क्रममा उनीहरूले बैंक ऋणको पुनर्संरचना, ब्याज मिनाहा तथा बीमा दाबीको रकम शीघ्र भुक्तानीको व्यवस्था गर्न आग्रह गरेका हुन्।
व्यवसायीहरूका अनुसार बाढीबाट क्षतिग्रस्त अधिकांश उद्योग तथा व्यवसाय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालनमा ल्याइएका थिए। बाढीले उद्योग, मेसिनरी तथा अन्य सम्पत्ति बगाएपछि उनीहरू एकातर्फ व्यवसायविहीन भएका छन् भने अर्कोतर्फ बैंक ऋणको दायित्व थपिएको छ।
एक बाढीपीडित व्यवसायीले क्रसर, टिप्परलगायतका सम्पत्ति बाढीले बगाएको र खोलाको आसपासमा सञ्चालित अधिकांश उद्योग तथा व्यवसायमा ठूलो क्षति पुगेको बताए। उनका अनुसार कतिपय व्यवसायी शून्य अवस्थामा पुगेका छन्।
उनले बाढीपीडित व्यवसायीको ऋणको ब्याज मिनाहा तथा ऋण नवीकरणको व्यवस्था गर्न सरकारसँग माग गरे। बीमा गरेका व्यवसायीको कागजातसमेत बाढीले बगाएको भन्दै उनले बीमा दाबीको रकम सहज रूपमा भुक्तानी भए व्यवसाय पुनः सञ्चालन गर्न केही आधार बन्ने बताए।
त्यस्तै, अर्का व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरण गर्नुपर्ने माग गरे। उनले बीमा दाबीको रकमसमेत झन्झटरहित ढंगले तत्काल भुक्तानी गर्ने वातावरण बनाउन पहल गर्न महासंघका पूर्वअध्यक्ष ढकालसँग आग्रह गरे।
उनका अनुसार संकटका बेला सरकार, बैंक तथा वित्तीय संस्थाबाट सहयोग प्राप्त भए प्रभावित व्यवसायी पुनः व्यवसायमा फर्किन सक्नेछन्। साथै, निजी क्षेत्रले छुट्टै कोष स्थापना गरी बाढीपीडित व्यवसायीलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
अर्का व्यवसायीले निजी क्षेत्रका समस्या सरकारसम्म पुर्याउन नेपाल उद्योग वाणिज्य महासंघमार्फत पहल गर्न आग्रह गरे। लामो समय विदेशमा काम गरेर कमाएको रकम स्वदेशमै व्यवसाय सुरु गर्न लगानी गरेको भए पनि व्यवसाय विस्तार हुँदै गर्दा बाढीले सबै संरचना तहसनहस बनाएको उनले बताए।
उनले राज्यले दीर्घकालीन पुनर्स्थापनाको नीति बनाउनुपर्ने भए पनि तत्काल व्यवसाय पुनः सञ्चालनका लागि आवश्यक राहत तथा पुनरुत्थान कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।
यसैबीच, बाढीपीडित उद्योगी–व्यवसायीसँगको छलफलमा पूर्वअध्यक्ष ढकालले प्रभावित निजी क्षेत्रका आधारभूत आवश्यकता पूरा गर्न पहिलो प्राथमिकता दिनुपर्ने बताए। उनले राजनीतिक दल, सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका समस्या समाधान गर्नुपर्ने धारणा राखे।
ढकालले बाढी प्रभावित उद्योगी–व्यवसायीको साथमा महासंघ रहेको बताउँदै पुनरुत्थानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। तत्काल खाद्यान्न, आवास, लत्ताकपडा तथा सम्पर्कविहीन आफन्तको खोजी जस्ता आधारभूत समस्या समाधान गरेपछि व्यवसायगत समस्याको समाधानतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
त्यसपछि बैंक ऋण तथा बीमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग पहल गर्ने उनले बताए। साथै, ग्लोबल आइएमई बैंकका तर्फबाट गर्न सकिने सहयोगका विषयमा आवश्यक निर्णयका लागि पहल गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
बाढीबाट व्यवसाय गुमाएका उद्योगी–व्यवसायीले राहत मात्र नभई ऋण पुनर्संरचना, ब्याजमा सहुलियत, बीमा दाबीको शीघ्र भुक्तानी र तत्काल पुनरुत्थान कार्यक्रमलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया