पेशागत बीमा अभिकर्ता संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ लाख १ हजार रुपैयाँ सहयोग
- BFIS News
- 2026 Sep 11 20:49
काठमाडौँ। पेशागत बीमा अभिकर्ता संघ नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संघले बाढी प्रभावित परिवारको राहत, विस्थापित नागरिकको पुनःस्थापना तथा घाइतेको उद्धार र उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको हो।
संघका अध्यक्ष ओमबहादुर खत्री र महासचिव कल्याण विक्रम पांडेले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १२ लाख १ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दीपक अर्याल र कोषाध्यक्ष नानीमाया सापकोटाको पनि उपस्थिति थियो।
बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियानअन्तर्गत संघले विभिन्न जीवन बीमा कम्पनीका अभिकर्तामार्फत उक्त रकम संकलन गरेको हो। संकलित रकममध्ये नेपाल लाइफ बीमा कम्पनीबाट २ लाख ४८ हजार ५ सय १ रुपैयाँ, नेशनल लाइफ बीमा कम्पनीबाट २ लाख ४३ हजार ९ सय ४२ रुपैयाँ, एलआईसी नेपालबाट २ लाख १३ हजार ९ सय ७५ रुपैयाँ र हिमालयन लाइफबाट १ लाख ५९ हजार ५ सय रुपैयाँ रहेको छ।
त्यसैगरी राष्ट्रिय जीवन बीमा कम्पनीबाट १ लाख ५० हजार रुपैयाँ, सन नेपाल लाइफबाट १ लाख ७ हजार २ सय ६६ रुपैयाँ, एशियन लाइफबाट ७७ हजार ६ सय ९६ रुपैयाँ र प्रभु महालक्ष्मी लाइफबाट ५ हजार १ सय रुपैयाँ सहयोग संकलन भएको संघले जनाएको छ।
सहयोग संकलन तथा हस्तान्तरण कार्यक्रमको संयोजन महासचिव कल्याण विक्रम पांडेले गरेका थिए। पांडे सहित संघका पदाधिकारी तथा सम्बन्धित समूहले राहत कोषका लागि सहयोग संकलन गर्न पहल गरेका थिए।
संघले विपद्बाट प्रभावित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाको सकुशल उद्धारको कामना गरेको छ। साथै, विस्थापित नागरिकको शीघ्र पुनःस्थापना हुनुपर्नेमा जोड दिँदै राहत तथा पुनःस्थापनाको अभियानमा आफ्नो तर्फबाट आर्थिक योगदान गरेको जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारी तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ। विभिन्न संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)







.jpg)

प्रतिक्रिया