डिजिटल वित्तीय सेवा विस्तारका लागि राष्ट्र बैंकको पाँचवर्षे फिनटेक रणनीति
- BFIS News
- 2026 Sep 15 13:19
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी पाँच वर्षमा डिजिटल वित्तीय सेवाको पहुँच विस्तार, प्रविधिमा आधारित नयाँ वित्तीय उत्पादनको विकास र फिनटेक क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने लक्ष्यसहित रणनीतिक ढाँचा अघि सारेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ।
रणनीतिले डिजिटल वित्तीय सेवाको विस्तारसँगै त्यसलाई सुरक्षित, भरपर्दो र सर्वसुलभ बनाउने विषयलाई प्राथमिकतामा राखेको छ। वित्तीय सेवामा प्रतिस्पर्धा बढाउने, उपभोक्ताका लागि विकल्प विस्तार गर्ने, सेवा प्रवाहको लागत घटाउने र प्रविधिबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापन गर्ने विषय पनि रणनीतिको मुख्य उद्देश्यमा समेटिएका छन्।
तीन आधारमा फिनटेक विकास
राष्ट्र बैंकले फिनटेक क्षेत्रको विकासका लागि डिजिटल पूर्वाधार, नीति–नियमन तथा सुशासन र फिनटेक इकोसिस्टमलाई तीन प्रमुख आधारका रूपमा अघि सारेको छ।
डिजिटल पूर्वाधारअन्तर्गत विद्यमान प्रणालीको आधुनिकीकरण, सुरक्षित तथा निरन्तर सञ्चालन हुन सक्ने संरचना निर्माण र नियमन तथा सुपरिवेक्षणमा प्रविधिको प्रयोग बढाउने योजना छ।
नीति, नियमन तथा सुशासनतर्फ फिनटेकमैत्री नियामकीय वातावरण विकास गर्ने, सेवा प्रदायकबीच समान प्रतिस्पर्धाको अवस्था सिर्जना गर्ने तथा डिजिटल वित्तीय सेवामा सुरक्षा र जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने विषय समेटिएका छन्।
त्यस्तै फिनटेक इकोसिस्टमअन्तर्गत नयाँ वित्तीय सेवा तथा उत्पादनको विकास, नवप्रवर्तनलाई सहयोग, डिजिटल वित्तीय साक्षरता वृद्धि र सम्बन्धित निकायबीच समन्वय विस्तारमा जोड दिइएको छ।
फिनटेक कम्पनीलाई समान प्रतिस्पर्धाको अवसर
रणनीतिले फिनटेक क्षेत्रमा प्रवेश गर्ने विभिन्न संस्थालाई समान प्रतिस्पर्धाको वातावरण उपलब्ध गराउने नियामकीय व्यवस्था विकास गर्ने लक्ष्य राखेको छ।
नयाँ प्रविधि र कम्पनीको प्रवेशसँगै वित्तीय सेवामा प्रतिस्पर्धा बढे उपभोक्ताले थप विकल्प प्राप्त गर्ने र सेवाको लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नयाँ प्रविधिमा आधारित वित्तीय सेवा विकासलाई अत्यधिक नियमनमार्फत सीमित गर्नुको सट्टा सम्भावित जोखिमलाई ध्यानमा राख्दै नवप्रवर्तनका लागि आवश्यक वातावरण बनाउने रणनीति लिइएको छ।
यसका लागि फिनटेक कम्पनी, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकसहित सम्बन्धित सरोकारवालाबीच सहकार्य बढाउने योजना छ।
डिजिटल माध्यमबाट सेवा लागत घटाउने लक्ष्य
राष्ट्र बैंकले प्रविधिको प्रयोगमार्फत वित्तीय सेवा उपलब्ध गराउने लागत घटाउने विषयलाई पनि रणनीतिक प्राथमिकतामा राखेको छ।
डिजिटल माध्यमबाट सेवा प्रवाह गर्दा समय र लागत दुवै घटाउन सकिने भएकाले नयाँ प्रविधि तथा डिजिटल वित्तीय उत्पादनको विकासलाई प्रोत्साहन गर्ने योजना छ। विभिन्न डिजिटल वित्तीय प्रणालीबीच अन्तरआबद्धता बढाएर प्रयोगकर्ताले सहज रूपमा फरक–फरक प्रणालीबाट सेवा लिन सक्ने वातावरण निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ।
ग्रामीण क्षेत्र र लक्षित समूह प्राथमिकतामा
डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्दा वित्तीय सेवाबाट तुलनात्मक रूपमा कम लाभ लिइरहेका समूहलाई रणनीतिले प्राथमिकतामा राखेको छ।
सूक्ष्म, साना तथा मझौला उद्यम, ग्रामीण क्षेत्र, युवा, महिला, बालबालिका तथा गिग अर्थतन्त्रमा संलग्न व्यक्तिलाई लक्षित समूहका रूपमा समेटिएको छ। ग्रामीण क्षेत्रमा डिजिटल माध्यमबाट वित्तीय सेवा विस्तार गरी बैंकिङ तथा औपचारिक वित्तीय प्रणालीको पहुँच सीमित भएका समूहलाई जोड्ने उद्देश्य रणनीतिमा राखिएको छ।
यससँगै डिजिटल वित्तीय सेवाको पहुँच मात्र बढाएर नहुने भएकाले त्यसको सुरक्षित प्रयोगका लागि वित्तीय तथा डिजिटल साक्षरता विस्तारमा पनि जोड दिइएको छ।
नयाँ डिजिटल वित्तीय उत्पादनलाई प्रोत्साहन
आगामी पाँच वर्षमा ग्राहकको आवश्यकता र प्रविधिको विकासअनुसार नयाँ डिजिटल वित्तीय उत्पादन तथा सेवा निर्माणका लागि वातावरण तयार गर्ने राष्ट्र बैंकको योजना छ।
फिनटेक कम्पनी तथा परम्परागत वित्तीय संस्थाले नयाँ प्रविधिको प्रयोगमार्फत सेवा विकास गर्न सक्ने अवस्था सिर्जना गर्ने र नवप्रवर्तनलाई संस्थागत रूपमा सहयोग गर्ने रणनीतिमा उल्लेख छ। साथै नयाँ प्रविधिबाट सिर्जना हुने जोखिमको पहिचान तथा व्यवस्थापनका लागि नियमन र सुपरिवेक्षणको क्षमता विस्तार गर्ने लक्ष्य राखिएको छ।
साइबर तथा डिजिटल जोखिममा निगरानी
डिजिटल वित्तीय सेवाको विस्तारसँगै साइबर जोखिम, डिजिटल ठगी, प्रणाली अवरुद्ध हुने अवस्था र ग्राहकका तथ्यांकको सुरक्षाजस्ता चुनौतीलाई पनि रणनीतिले सम्बोधन गर्न खोजेको छ।
डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित, भरपर्दो र जोखिमप्रतिरोधी बनाउने तथा प्रविधिको प्रयोगमार्फत नियमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने योजना अघि सारिएको छ। यसबाट डिजिटल वित्तीय सेवाप्रति प्रयोगकर्ताको विश्वास कायम राख्ने लक्ष्य राखिएको छ।
डिजिटल वित्तीय साक्षरता विस्तार
डिजिटल वित्तीय सेवाको प्रयोग बढ्दै जाँदा प्रयोगकर्तालाई त्यसको सुरक्षित र जिम्मेवार प्रयोगबारे जानकारी दिनुपर्ने आवश्यकतालाई पनि रणनीतिले समेटेको छ।
विशेषगरी ग्रामीण क्षेत्र, महिला, युवा तथा डिजिटल वित्तीय सेवामा नयाँ प्रवेश गर्ने समूहलाई लक्षित गरी वित्तीय तथा डिजिटल साक्षरता बढाउने योजना छ। यसले डिजिटल सेवा प्रयोगको विस्तारसँगै सम्भावित जोखिम न्यूनीकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
नियमन र सुपरिवेक्षण क्षमता सुदृढ गरिने
फिनटेकको विस्तारसँगै डिजिटल भुक्तानी, डिजिटल ऋण तथा प्रविधिमा आधारित अन्य वित्तीय सेवाबाट नयाँ प्रकृतिका जोखिम सिर्जना हुन सक्ने भएकाले नियामकीय क्षमता विस्तारलाई रणनीतिको अर्को महत्वपूर्ण पक्ष बनाइएको छ।
राष्ट्र बैंकले आगामी पाँच वर्षमा नियमन तथा सुपरिवेक्षणको संस्थागत क्षमता बढाउने र सम्बन्धित नियामक तथा सरोकारवाला निकायबीच समन्वय सुदृढ गर्ने लक्ष्य राखेको छ।
रणनीति कार्यान्वयनबाट सुरक्षित, समावेशी, नवीन, अन्तरआबद्ध र जोखिमप्रतिरोधी डिजिटल वित्तीय प्रणाली विकास गर्ने राष्ट्र बैंकको लक्ष्य छ। डिजिटल भुक्तानीको विस्तारसँगै वित्तीय सेवाको पहुँच, गुणस्तर र प्रतिस्पर्धा बढाउने तथा लागत घटाउने विषयलाई पनि रणनीतिको समग्र उद्देश्यमा राखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)


.jpg)






प्रतिक्रिया