पृथ्वी राजमार्गमा एकतर्फी यातायात सञ्चालन, बिहीबारदेखि दुवैतर्फ खुलाउने तयारी
- BFIS News
- 2026 Sep 13 20:31
काठमाडौं । धादिङको कृष्णभीरमा त्रिशूली नदीको कटान र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको क्षतिग्रस्त खण्डमा वैकल्पिक सडक निर्माण गरी एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। वैकल्पिक ट्र्याक निर्माण पूरा भएपछि आइतबारदेखि चारौंदीबाट मुग्लिनतर्फ सवारीसाधन सञ्चालनको परीक्षण सुरु गरिएको हो।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदीमा आएको ठूलो बहावले कृष्णभीर क्षेत्रमा राजमार्गको सडकखण्ड कटान गरी भत्काएपछि करिब १० दिनदेखि यातायात प्रभावित थियो। नदीले सडकको ठूलो हिस्सा बगाएपछि सो स्थानमा २५२ मिटर लामो वैकल्पिक सडकखण्ड निर्माण गरिएको हो।
हाल नयाँ सडकखण्डको सतह सम्याउने तथा यातायातका लागि पूर्ण रूपमा उपयुक्त बनाउने काम भइरहेको छ। सडकलाई कम्तीमा दुई लेनमा सञ्चालनयोग्य बनाउन ग्राभेल बिछ्याउने र सतहमुनि पानी निकासका लागि ड्रेनेज संरचना निर्माण गर्ने कामसमेत अघि बढाइएको छ।
एकतर्फी यातायात सञ्चालनमा आए पनि राजमार्गमा दुवैतर्फबाट सवारीसाधन सञ्चालन गर्न अझै केही दिन लाग्ने भएको छ। निर्माण तथा सुधारको काम योजनाअनुसार अघि बढे बिहीबारदेखि दुवैतर्फ यातायात सञ्चालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्।
नयाँ सडकखण्डलाई थप स्थिर र मजबुत बनाउँदै सुरक्षित तथा सहज आवागमन सुनिश्चित गर्न निर्माण कार्यलाई प्राथमिकता दिइएको छ। विशेषगरी नदी कटानका कारण कमजोर बनेको सडकको आधार बलियो बनाउने तथा पानीको उचित निकासको व्यवस्था गर्ने काम भइरहेको छ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदीमा आएको उच्च बहावले पृथ्वी राजमार्गका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको थियो। धादिङको कृष्णभीरसँगै मकवानपुरको परेवा भीर र नागढुंगानजिकको पात्ले वन क्षेत्रमा समेत सडक कटान, पहिरो र सडकको संरचना कमजोर हुने समस्या देखिएको थियो।
सडक विभागका अनुसार त्रिशूली नदीमा आएको अत्यधिक बहावका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा नदी कटान तीव्र भएको थियो। कृष्णभीरको फेदीमा नदीले सडकको आधारतर्फ तीव्र कटान गरेपछि विद्यमान सडकको जग कमजोर बनेको थियो। त्यसक्रममा राजमार्गको ठूलो हिस्सा भासिएपछि यातायात बन्द गरी वैकल्पिक सडक निर्माण गर्नुपरेको थियो।
काठमाडौंलाई देशका पश्चिमी क्षेत्रका प्रमुख गन्तव्य तथा व्यापारिक केन्द्रसँग जोड्ने महत्वपूर्ण सडकमार्गका रूपमा रहेको पृथ्वी राजमार्गको वैकल्पिक खण्ड सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित यातायात केही सहज हुने अपेक्षा गरिएको छ। पूर्ण रूपमा दुवैतर्फ यातायात सञ्चालन गर्न भने सडक सुदृढीकरण तथा ड्रेनेज निर्माणको काम पूरा गर्नुपर्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)





.jpg)


प्रतिक्रिया