रात्रीकालीन सार्वजनिक यातायात भक्तपुरसम्म विस्तार गर्न काठमाडौंको प्रस्ताव
- BFIS News
- 2026 Sep 15 13:24
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा सञ्चालन भइरहेको रात्रीकालीन सार्वजनिक यातायात सेवा भक्तपुरसम्म विस्तार गर्न भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई लागत साझेदारीका लागि प्रस्ताव गरेको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुरका स्थानीय तहलाई रात्रीकालीन यातायात प्रणालीमा जोडिन आग्रह गरेकी हुन्।
काठमाडौं, ललितपुर, बूढानीलकण्ठ र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा गत वैशाख १ गतेदेखि साझा यातायातमार्फत रात्रीकालीन बस सेवा सञ्चालन हुँदै आएको छ। उक्त सेवाको दायरा उपत्यकाका अन्य क्षेत्रमा विस्तार गर्नुपर्ने माग बढ्दै गएपछि भक्तपुरका स्थानीय तहसँग पनि सहकार्यको प्रस्ताव अघि सारिएको हो।
डंगोलका अनुसार राति सार्वजनिक यातायातका साधनको संख्या घट्दै जाँदा काम सकेर घर फर्किने श्रमिक तथा मध्यम वर्गका यात्रुले समस्या भोग्दै आएका छन्। काठमाडौंमा काम गर्ने तर भक्तपुर, ललितपुर, कीर्तिपुर, चन्द्रागिरिलगायत क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि नियमित सार्वजनिक यातायातको सेवा पर्याप्त नहुँदा निजी तथा राइड सेयरिङ सेवामा निर्भर हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
रात्रीकालीन सेवा विस्तार गर्दा सञ्चालनमा प्रारम्भिक आर्थिक घाटा आउन सक्ने भएकाले त्यसको भार एउटै स्थानीय तहमा सीमित नगरी सम्बन्धित पालिकाबीच लागत साझेदारी गर्नुपर्नेमा महानगरपालिकाले जोड दिएको छ। सेवा सञ्चालन हुने रुटसँग प्रत्यक्ष जोडिएका स्थानीय तहले वित्तीय योगदान गरेमा आर्थिक दायित्व बाँडिनुका साथै सेवाको दीर्घकालीन सञ्चालनमा सहज हुने महानगरको धारणा छ।
डंगोलले रात्रीकालीन सार्वजनिक यातायातलाई स्थानीय तहको साझा सेवाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन्। उनका अनुसार एउटै पालिकाले मात्र सेवा सञ्चालन गर्नेभन्दा सम्बन्धित सबै स्थानीय तहको संयुक्त स्वामित्व र जिम्मेवारी कायम गर्न सके सेवा संस्थागत तथा दिगो बनाउन सकिन्छ।
काठमाडौं उपत्यकाका विभिन्न पालिकालाई जोड्ने गरी विस्तार हुने रुटमा काठमाडौं, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि, भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायकलगायत स्थानीय तहले लागत साझेदारी गर्न सक्ने प्रस्ताव महानगरले अघि सारेको छ।
भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले काठमाडौं महानगरपालिकाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। दुवै स्थानीय तहले रात्रीकालीन सार्वजनिक यातायात विस्तारका लागि सहकार्य गर्न इच्छुक रहेको जनाएका छन्।
यसैबीच, आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा ६ वटा नयाँ रुटमा २८ वटा रात्रीकालीन बस सञ्चालन गर्ने तयारी गरिएको छ। नयाँ रुटले उपत्यकाको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई जोड्ने लक्ष्य राखिएको छ।
योजनाअनुसार गोदावरीदेखि बूढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरिको नागढुंगासम्म ४ वटा र कीर्तिपुरदेखि नयाँ सडक हुँदै नेपाल वायुसेवा निगमसम्म ४ वटा बस सञ्चालन गरिनेछ। त्यस्तै, चक्रपथमा दुवैतर्फ आवागमन हुने गरी ८ वटा बस सञ्चालन गर्ने तयारी छ।
चक्रपथ रुटसमेत सञ्चालनमा आएपछि यात्रुले एक स्थानमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सक्ने व्यवस्था मिलाइनेछ। यस्तो यात्राका लागि अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने बताइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)


.jpg)






प्रतिक्रिया