NIMB Header 2
Prabhu Mahalaxmi

साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २० अर्बले घट्यो, निजी क्षेत्रको कर्जा २३ अर्बले बढ्यो

United Ajod
  • BFIS News
  • 2026 Sep 19 12:01
साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २० अर्बले घट्यो, निजी क्षेत्रको कर्जा २३ अर्बले बढ्यो
IME LIFE

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन घट्दा निजी क्षेत्रतर्फको कर्जा प्रवाह भने बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ०.३ प्रतिशत अर्थात् २० अर्ब ७१ करोड रुपैयाँले घटेर ८२ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँमा झरेको छ।

Nepal Life
NIMB

अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ०.८ प्रतिशत अर्थात् ५५ अर्ब ७९ करोड रुपैयाँले घटेको थियो। यद्यपि, वार्षिक विन्दुगत आधारमा भने २०८३ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.५ प्रतिशतले बढेको छ।

निक्षेपको संरचनातर्फ हेर्दा साउन मसान्तमा कुल निक्षेपमा चल्ती निक्षेपको हिस्सा ७.३ प्रतिशत, बचत निक्षेपको ४७.६ प्रतिशत र मुद्दती निक्षेपको ३५.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यी निक्षेपको हिस्सा क्रमशः ५.६ प्रतिशत, ३७.५ प्रतिशत र ४८.४ प्रतिशत थियो।

यस अवधिमा कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा पनि घटेको छ। २०८३ साउन मसान्तमा संस्थागत निक्षेपको हिस्सा ३३.३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३५.१ प्रतिशत थियो।

निजी क्षेत्रतर्फ कर्जा विस्तार

निक्षेपमा सामान्य संकुचन आए पनि समीक्षा अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढेको छ। बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशत अर्थात् २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशत अर्थात् २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो। वार्षिक विन्दुगत आधारमा भने २०८३ साउन मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ।

निजी क्षेत्रतर्फ प्रवाहित कुल कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी दुई क्षेत्रको हिस्सा क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत थियो।

संस्थागत समूहअनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा ०.१ प्रतिशतले बढेको छ। विकास बैंकहरूको कर्जा भने ०.३ प्रतिशतले घटेको छ।

घरजग्गा धितोको कर्जा हिस्सा घट्यो

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा १५.३ प्रतिशत रहेको छ। घरजग्गा धितो सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा ६३ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको साउनमा यी कर्जाको हिस्सा क्रमशः १४.८ प्रतिशत र ६४.४ प्रतिशत थियो। यसले चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा केही बढेको र घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा घटेको देखाउँछ।

क्षेत्रगत रूपमा साउनमा खनिज क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मततर्फ ३ प्रतिशत र निर्माण क्षेत्रतर्फ २.१ प्रतिशतले बढेको छ। सेवा उद्योगतर्फ १.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवातर्फ १.२ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मततर्फ ०.८ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार र औद्योगिक उत्पादनतर्फको कर्जा समान ०.३ प्रतिशतले बढेको छ।

यसको विपरीत वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले घटेको छ। कृषि क्षेत्रको कर्जा ०.९ प्रतिशत र उपभोग्य क्षेत्रको कर्जा ०.६ प्रतिशतले घटेको छ।

आवधिक कर्जा बढ्दा विपन्न वर्ग कर्जा घट्यो

कर्जाको प्रकृतिअनुसार समीक्षा अवधिमा आवधिक कर्जा १.५ प्रतिशतले बढेको छ। त्यस्तै दृष्ट रिसिट (आयात) कर्जा १ प्रतिशत, रियल स्टेट कर्जा, व्यक्तिगत आवासीय घर कर्जासहित, ०.७ प्रतिशत तथा हायर पर्चेज कर्जा ०.१ प्रतिशतले बढेको छ।

तर विपन्न वर्ग कर्जा ७.३ प्रतिशतले घटेको छ। अधिविकर्ष कर्जा २.६ प्रतिशत, क्यास क्रेडिट कर्जा १.१ प्रतिशत तथा माग तथा अन्य चालु पुँजी कर्जा ०.५ प्रतिशतले घटेको छ।

राष्ट्र बैंकले २ खर्ब २७ अर्ब तरलता प्रशोचन गर्‍यो

समीक्षा अवधिमा नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत २ खर्ब २७ अर्ब ३० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ। यसमध्ये निक्षेप सङ्कलन बोलकबोलमार्फत ३७ अर्ब ५० करोड र स्थायी निक्षेप सुविधामार्फत १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ प्रशोचन भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत कुल ३६ खर्ब ३८ अर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो।

२०८३ साउन मसान्तमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ८६ अर्ब ५८ करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत ४० अर्ब रुपैयाँ गरी कुल १ खर्ब २६ अर्ब ५८ करोड रुपैयाँ बराबरको तरलता प्रशोचनको बक्यौता रहेको छ।

विदेशी विनिमय खरिदमार्फत १ खर्बभन्दा बढी तरलता प्रवाह

समीक्षा अवधिमा राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट अमेरिकी डलर ६६ करोड ५८ लाख खुद खरिद गरेको छ। उक्त विदेशी मुद्रा खरिदमार्फत बैंकिङ प्रणालीमा १ खर्ब १ अर्ब ८७ करोड रुपैयाँ बराबरको तरलता प्रवाह भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५५ करोड ४२ लाख खुद खरिद गरी ७७ अर्ब ५२ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।

यसै अवधिमा राष्ट्र बैंकले २६ करोड अमेरिकी डलर बिक्री गरी ३९ अर्ब ९० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा २० करोड अमेरिकी डलर बिक्री गरी २८ अर्ब ६ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।

अन्तरबैंक कारोबार १ खर्ब २७ अर्ब

आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबार पनि बढेको छ। साउनमा वाणिज्य बैंकहरूबीच १ खर्ब २० अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाबीच ६ अर्ब ७८ करोड रुपैयाँ गरी कुल १ खर्ब २७ अर्ब २८ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ८७ अर्ब ४९ करोड र अन्य वित्तीय संस्थाहरूको ७ अर्ब ४५ करोड रुपैयाँ गरी कुल ९४ अर्ब ९४ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको थियो।

यसरी, चालु आर्थिक वर्षको पहिलो महिनामा निक्षेप परिचालनमा सामान्य गिरावट आए पनि बैंकिङ प्रणालीबाट निजी क्षेत्रतर्फको कर्जा विस्तार सकारात्मक देखिएको छ। साथै, राष्ट्र बैंकले तरलता प्रशोचनसँगै विदेशी विनिमय बजारबाट विदेशी मुद्रा खरिदमार्फत बैंकिङ प्रणालीमा तरलता प्रवाह गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया