शिखर इन्स्योरेन्सद्धारा सर्लाहीको सरस्वती अमरेश विद्यालयका ८६० जना विद्यार्थीलाई पोशाक वितरण
- BFIS News
- 2026 Sep 19 22:12
काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्लाहीको श्री सरस्वती अमरेश बबुनन्दन सिंह माध्यमिक विद्यालयका ८६० विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको हो।
सर्लाही क्षेत्र नम्बर ४ का सांसद अमरेश कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिखर इन्स्योरेन्सका नायब महाप्रबन्धक तथा कम्पनी सचिव सुरज राजबाहक, मधेश प्रदेश प्रमुख सुरेश चन्द्र गुप्तासहित मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, वडाध्यक्ष तथा मेयरलगायत एक हजार भन्दा धेरैको सहभागिता थियो।
कम्पनीका अनुसार विद्यार्थीको पोशाक वितरण गर्नुअघि सबै विद्यार्थीको नाप लिइएको थियो। सोही नापका आधारमा काठमाडौंमा पोशाक सिलाएर विद्यालयमै ल्याई वितरण गरिएको हो। पोशाक पाएपछि विद्यार्थीहरू उत्साहित भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अमरेश कुमार सिंहले शिखर इन्स्योरेन्सले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले मधेशका विद्यार्थीका लागि शिक्षा र स्वास्थ्यमा स्थानीयस्तरबाटै सहयोग र पहल आवश्यक रहेको बताए। उनले स्थानीयस्तरमा सरकारी बजेटको प्रतीक्षा मात्र नगरी निजी क्षेत्र, सामाजिक संस्था तथा विभिन्न निकायको सहकार्यबाट विद्यालय भवन, स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा आवश्यक सहयोग पुर्याउनुपर्नेमा पनि जोएका दिएका थिए। उनले साना–साना पहलबाट समुदायको विकासमा योगदान गर्न सकिने बताए।
उनले शिक्षा तथा स्वास्थ्यका लागि काठमाडौं वा वीरगञ्जमै निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीयस्तरमै आवश्यक पूर्वाधार र सेवा विकास गर्नुपर्नेमा जोड दिए। विशेषगरी गरिब तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा सहयोग गर्न निजी क्षेत्र तथा विभिन्न संस्थाको सामाजिक उत्तरदायित्वलाई परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
सांसद सिंहले शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई समेत विशेष धन्यवाद दिए। सामाजिक सेवाका क्षेत्रमा पाण्डेले निरन्तर काम गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे।
शिखर इन्स्योरेन्सका नायब महाप्रबन्धक तथा कम्पनी सचिव सुरज राजबाहकले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए। विद्यालयमा अध्ययनरत धेरै विद्यार्थी आर्थिक रूपमा विपन्न परिवार तथा दलित समुदायबाट रहेको उल्लेख गर्दै उनले आवश्यकतामा रहेका विद्यार्थीलाई सहयोग गर्न पाउनु कम्पनीका लागि महत्वपूर्ण रहेको बताए।
राजबाहकले ग्रामीण तथा विपन्न समुदायमा बीमाको पहुँच विस्तार गर्नुपर्नेमा समेत जोड दिए। सानो रकमको प्रिमियमबाट ठूलो जोखिमको आर्थिक सुरक्षा प्राप्त गर्न सकिने भएकाले गाउँघरका नागरिक पनि बीमाको दायरामा आउनुपर्ने उनले बताए।
“सानो रकमको प्रिमियम तिरेर ठूलो जोखिमलाई कभर गर्न सकिन्छ। त्यसैले गाउँघरका मानिसहरूले पनि बीमाको महत्त्व बुझेर बीमाको दायरामा आउनुपर्छ,” राजबाहकले भने।
उनले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता क्षेत्रमा काम गर्ने कम्पनीको उद्देश्य रहेको बताए। कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा सांसद सिंहलाई धन्यवाद दिँदै उनले स्थानीय समुदायसँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले उक्त विद्यालय छनोट गर्नुको प्रमुख कारण त्यहाँ मधेश प्रदेशका गरिब तथा विपन्न परिवारका विद्यार्थी अध्ययनरत हुनु रहेको जनाएको छ। मधेशमा अझै पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरमा पहुँचको चुनौती रहेको भन्दै आवश्यकतामा रहेका समुदायलाई लक्षित गरेर सामाजिक उत्तरदायित्वका कार्यक्रम अघि बढाइएको कम्पनीको भनाइ छ।
कार्यक्रममा ग्रामीण क्षेत्रमा छोरीको शिक्षासम्बन्धी सामाजिक अवस्थाबारे समेत चर्चा भएको थियो। कतिपय परिवारले छोरालाई निजी विद्यालयमा र छोरीलाई सरकारी विद्यालयमा पढाउने प्रवृत्ति अझै रहेको उल्लेख गर्दै छोरीहरूले पनि समान रूपमा गुणस्तरीय शिक्षा पाउनुपर्नेमा जोड दिइएको थियो।
विद्यालयका प्रधानाध्यापक जयप्रकाश नारायण सिंहले पनि कार्यक्रममा कम्पनी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे। कम्पनीले विद्यार्थीको आवश्यकता पहिचान गरी उनीहरूको नापअनुसार पोशाक तयार गरेर वितरण गरेकाले सहयोग थप प्रभावकारी भएको बताइएको छ।
शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले विद्यार्थीहरूको खुसीलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए। विद्यार्थी तथा समुदायका लागि केही गर्न पाउँदा आफूलाई विशेष खुसी लाग्ने उनको धारणा रहेको कार्यक्रममा उल्लेख गरिएको थियो।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)










प्रतिक्रिया