NIMB Header 2
Prabhu Mahalaxmi

रसुवा बाढीको असरले नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

United Ajod
  • BFIS News
  • 2026 Oct 06 12:36
रसुवा बाढीको असरले नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
IME LIFE

काठमाडौं। भदौ १० गते रसुवामा आएको बाढीबाट उद्योग, ऊर्जा, यातायात र सेवा क्षेत्रमा परेको क्षतिका कारण नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

Nepal Life
NIMB

विश्व बैंकको पछिल्लो नेपाल विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनले बाढीबाट क्षतिग्रस्त पूर्वाधार र आर्थिक गतिविधिमा आएको अवरोधलाई वृद्धिदरमा कमी आउने प्रमुख कारणका रूपमा औंल्याएको हो।

प्रतिवेदनअनुसार बाढीबाट जलविद्युत् आयोजना, सौर्य ऊर्जा, विद्युत् प्रसारण प्रणाली तथा यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, औद्योगिक गतिविधि र वस्तुको आवागमन प्रभावित हुनेछन्। यसका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्रको योगदान कमजोर रहने अनुमान गरिएको छ।

सेवा क्षेत्र पनि व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधबाट प्रभावित हुने विश्व बैंकको आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र आर्थिक उत्पादनमा प्रभाव तुलनात्मक रूपमा सीमित रहने भए पनि प्रभावित क्षेत्रका घरपरिवारको आय र जीविकोपार्जनमा भने उल्लेखनीय असर पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने अपेक्षा विश्व बैंकले गरेको छ। त्यसअनुसार आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

विश्व बैंकका अनुसार रसुवा बाढीले नेपालमा मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विपद्पछि पुनर्निर्माणका क्रममा क्षतिग्रस्त संरचना यथावत् पुनर्निर्माण गर्नुको सट्टा भविष्यमा देखिन सक्ने बहुविपद् जोखिमलाई समेत ध्यान दिनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।

पुनर्निर्माणका क्रममा पूर्वाधारको स्थान र डिजाइन पुनरावलोकन गर्न तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा वैकल्पिक व्यवस्था विकास गर्नुपर्ने सुझाव दिइएको छ। त्यसैगरी विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने र संकटमा परेका परिवारलाई छिटो सहायता उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली विकास गर्नुपर्ने विश्व बैंकले जनाएको छ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनका अनुसार बाढीबाट भएको क्षतिले नेपालका पूर्वाधार तथा आधारभूत सेवाको जोखिम र क्षमता पुनर्मूल्यांकन गर्ने आवश्यकता देखाएको छ। जलवायु परिवर्तन तथा बदलिँदो विपद् जोखिमलाई ध्यानमा राखेर पूर्वाधार योजना र लगानीमा उत्थानशीलता तथा वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

यसैबीच, विश्व बैंकको दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदनले चालु वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। बलियो आन्तरिक मागका कारण विश्वव्यापी आर्थिक आघातको प्रभावबाट क्षेत्रीय अर्थतन्त्र केही हदसम्म सुरक्षित रहने अपेक्षा गरिएको छ। सन् २०२७ मा भने दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।

प्रतिवेदनले दक्षिण एसियामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग विस्तार हुँदै गए पनि विकसित अर्थतन्त्रको तुलनामा यसको उपयोग अझै न्यून रहेको जनाएको छ। स्वास्थ्य, शिक्षा र कृषि जस्ता दक्ष जनशक्ति अभाव भएका क्षेत्रमा सार्वजनिक सेवा प्रवाह सुधार गर्न एआईको उपयोगको सम्भावना रहेको विश्व बैंक समूहकी एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गले बताएकी छिन्।

एआईको आर्थिक उपयोग विस्तारका लागि जनशक्तिको सीप विकास, व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण, भौतिक तथा डिजिटल पूर्वाधारमा सुधार र स्पष्ट नियामक संरचना आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ। साना व्यवसायले एआई प्रयोग गर्दा सामना गर्ने अवरोध घटाउने र स्थानीयस्तरमा नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव पनि दिइएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया