नेप्से लगातार चौथो कारोबार दिन सकारात्मक, कारोबार रकम बढेर ४ अर्ब ७३ करोड
- BFIS News
- 2026 Oct 13 15:40
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन बढेर बन्द भएको छ।
साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा पुगेको हो। यससँगै बजारमा कारोबार रकमसमेत बढेको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स २.३५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले वृद्धि भएको छ।
नेप्सेमा सामान्य सुधार देखिएसँगै शेयर कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ।
यस दिन ३५१ वटा स्टकको ४६ हजार ६५९ पटकको कारोबारमा १ करोड ३५ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ।
सगरमाथा जलविद्युत्को शेयरमूल्य सर्वाधिक बढ्यो
मंगलबार सगरमाथा जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढेको छ। अन्य स्टकको मूल्यवृद्धि भने ५ प्रतिशतभन्दा कम रहेको छ।
यसको विपरीत, स्नो रिभर्सको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १४९ रुपैयाँ ९० पैसाले घटेर प्रतिकित्ता ८४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १३ प्रतिशतले घटेको छ।
घलेम्दी हाइड्रोको कारोबार सर्वाधिक
कारोबार रकमका आधारमा मंगलबार घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
त्यस्तै, माउन्टेन इनर्जी नेपालको करिब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।
माउन्टेन इनर्जीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
पाँच उपसमूहको परिसूचक बढ्यो
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये मंगलबार पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।
यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकिङ, विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहका परिसूचकमा सामान्य वृद्धि भएको छ।
समग्रमा, नेप्से परिसूचक लगातार चौथो कारोबार दिन बढे पनि अधिकांश उपसमूहको परिसूचकमा गिरावट आएको छ। कारोबार रकममा भएको वृद्धिका बीच बजारमा मिश्रित प्रवृत्ति देखिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया