आर.एम.सी. फुड्सले पायो दुई राष्ट्रिय सम्मान, उत्कृष्ट करदाता र निर्यातकर्ता घोषित
- BFIS News
- 2026 Nov 25 15:19
काठमाडौं । आर.एम.सी. फुड्स प्रा.लि.ले उत्कृष्ट करदाता र उत्कृष्ट स्वदेशी निर्यातकर्ताका रूपमा दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ।
कम्पनी आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा उद्योग क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको हो। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा पनि कम्पनीले ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मान प्राप्त गरेको छ।
गत मंसिर ७ गते ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा कम्पनीलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरिएको थियो। आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले संयुक्त रूपमा हस्ताक्षर गरेको सम्मानपत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो।
यसैगरी, मंसिर ९ गते काठमाडौंमा ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ आयोजित १२औँ उद्योग दिवसको मूल समारोहमा कम्पनीलाई उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान प्रदान गरिएको हो। भन्सार विभागको सिफारिसका आधारमा प्रदान गरिएको उक्त सम्मान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कम्पनीलाई प्रदान गरेका थिए। कार्यक्रममा मन्त्रालयका सचिव रुद्रसिंह तामाङले कम्पनीका प्रतिनिधिलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।
आर.एम.सी. ग्रुपअन्तर्गत सञ्चालित आर.एम.सी. फुड्सले बाराको जीतपुरस्थित अत्याधुनिक उद्योगमार्फत प्रशोधित खाद्य तेल विशेषगरी न्युट्रिप्लस (Nutriplus) ब्रान्डका उत्पादनसहित विभिन्न गुणस्तरीय खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ।
नेपाल उद्योग परिसंघ (CNI) का निवर्तमान अध्यक्षसमेत रहेका आर.एम.सी. ग्रुपका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारबाट प्राप्त सम्मानले स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि र अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा प्रदान गरेको बताए।
उनले देशको व्यापार घाटा न्यूनीकरण र दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा कम्पनीको प्रतिबद्धता सधैँ अग्रपंक्तिमा रहने बताए।
दुईवटा राष्ट्रिय सम्मान प्राप्तिसँगै आर.एम.सी. फुड्सले स्वदेशी उद्योगको उत्पादन, कर योगदान तथा निर्यात प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानलाई सरकारी स्तरबाट समेत मान्यता प्राप्त भएको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)




.jpeg)





प्रतिक्रिया